
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गबाट आवतजावत गर्ने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने घोषणा फिर्ता लिएका छन् । शुल्कको सट्टा खाडी राष्ट्रहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने उनले बताए ।
तर, शुल्कको निर्णय फिर्ता भए पनि अमेरिका–इरान तनाव भने झन् बढेको छ । अमेरिकाले इरानी बन्दरगाहतर्फ पुनः नौसैनिक नाकाबन्दी सुरु गर्नुका साथै इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमणलाई निरन्तरता दिएको छ । इरानले पनि बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएको दाबी गरेको छ ।
ट्रम्पले होर्मुज जलमार्गको सुरक्षाको भार अमेरिकाले मात्रै बोकिरहनु उचित नभएको भन्दै खाडी मुलुकका नेताहरूसँगको छलफलपछि शुल्कसम्बन्धी निर्णय फिर्ता लिएको बताएका छन् । यता इरानले होर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण कायम रहने स्पष्ट पार्दै अमेरिकी नाकाबन्दीले यसअघि भएको युद्धविरामको समझदारी तोडेको आरोप लगाएको छ ।
होर्मुज क्षेत्रमा बढ्दो तनावका कारण विश्वको करिब एक चौथाइ तेल र पाँचौं भाग तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण समुद्री मार्ग प्रभावित बनेको छ । यसको असर विश्व बजारमा कच्चा तेलको मूल्यमा समेत देखिन थालेको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमाथि आक्रमण भए कडा जवाफ दिइने चेतावनी दिएका छन् ।



















