
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउने प्रयास अझै जारी रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै अध्यक्ष ओलीले पार्टीमाथि प्रहार भए पनि एमाले नसिद्दिएको दाबी गरे ।
सम्बोधनका क्रममा ओलीले भने,’हामीले धक्का खाएका छौँ, तर सिद्दिएका छैनौँ। हामी नवीकृत भएर अगाडि बढ्छौँ भन्ने सङ्केत आजको प्रविधिमैत्री सुरुवातले पनि दिएको छ।’
उनले एमालेलाई अरूको सहारा विना उठ्नै नसक्ने ‘लहरो’ सँग तुलना नगर्न चेतावनी दिँदै एमाले आफ्नै पौरखमा उभिएको एक ‘स्वतन्त्र र मजबुत वृक्ष’ भएको बताए।
“एमाले अरूको बलमा उभिएको होइन, यो आफैँ हुर्किँदै आँधी, हुरी र बाढीको सामना गरेर यहाँसम्म आइपुगेको पार्टी हो,” उनले थपे, “हामी कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो होइनौँ, एमाले आफ्नो स्वतन्त्र हैसियत भएको शक्ति हो।”
अध्यक्ष ओलीले विरोधीहरूले जतिसुकै घेराबन्दी गरे पनि पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्ने बताए ।

























