विराटनगरमा नेपाल शैक्षिक परामर्श संघ प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार २२:५२

विराटनगर । नेपाल शैक्षिक परामर्श संघ, पूर्वाञ्चल शाखाले आज विराटनगरस्थित ट्राफिक चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
संघले नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ प्रति असहमति जनाउँदै प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा नियमावलीका केही प्रावधान नियमनभन्दा बढी नियन्त्रणमुखी रहेको, निजी लगानी र उद्यमशीलतालाई निरुत्साहित गर्ने तथा शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरूलाई व्यावहारिक रूपमा कठिनाइ हुने भएकाले विरोध गर्नुपरेको संघका अध्यक्ष रवि गुप्ताले बताए । साथै, नियमावलीका कतिपय व्यवस्था स्पष्ट र कार्यान्वयनयोग्य नभएकाले भविष्यमा अन्योल, फरक–फरक व्याख्या र अनावश्यक कानुनी विवाद सिर्जना हुन सक्ने उनको भनाइ छ ।
संघले वर्तमान स्वरूपमा जारी गरिएको नियमावली तत्काल फिर्ता लिन, सम्बन्धित सरोकारवाला निकाय, व्यावसायिक संस्था, विज्ञ तथा व्यवसायीहरूसँग औपचारिक र सहभागितामूलक छलफल गरी नेपालको संविधान, प्रचलित कानुन, व्यावहारिक आवश्यकता तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार पुनः परिमार्जन गरेर मात्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
संघले भविष्यमा पनि शैक्षिक परामर्श क्षेत्रको सुधार, पारदर्शिता र गुणस्तर अभिवृद्धिका लागि नेपाल सरकारसँग रचनात्मक संवाद र सहकार्य गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×