
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । गत असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट सोमबार श्रेष्ठले नियुक्तिपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनीयताको शपथ लिए । मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट भई जिम्मेवारी प्राप्त गरेकोमा श्रेष्ठलाई बधाइ दिँदै नियामक निकायहरूले आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।
उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । वर्तमान समयमा गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले तिनको पहिचान गरी समाधानमुखी ढुंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
पुराना कानुनलाई समयानुकूल रूपमा परिमार्जन गरिँदै लगिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिए । क्षमता अभाव भएका संस्थाले प्रभावकारी रूपमा काम गर्न नसक्ने भन्दै उनले प्रेस काउन्सिललाई थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए ।
त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्री तिमिल्सिनाले घिमिरेलाई पनि पद तथा गोपनीयताको शपथ गराएका छन् ।



















