
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारहरूमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण एमाले–कांग्रेस बीचको आपसी असमझदारी भएको बताएका छन् । प्रतिपक्षी दलका कारण नभई सत्ता साझेदार दलहरूकै किचलोका कारण प्रदेश सरकारहरू उथलपुथल भइरहेको उनको भनाइ छ ।
नेता आङ्बोले गत भदौ २३–२४ को ‘जेन्जी विद्रोह’ पछि नै एमाले–कांग्रेस गठबन्धन असैद्धान्तिक र अपवित्र पुष्टि भइसकेको दाबी गरे । ‘यो गठबन्धन सोही समयमा विघटन हुनुपर्थ्यो, तर प्रदेश सभाको कार्यकालको अन्त्यतिर आएर सरकार अस्थिर बनाइनु गलत हो,’उनले भने ।
नेता आङ्बोले अहिलेको अवस्थामा नेकपा सदनमा जिम्मेवार प्रतिपक्षीकै भूमिकामा रहने प्रष्ट पारेका छन् । नीति, कार्यक्रम र बजेट वर्तमान गठबन्धनले नै पारित गरिसकेको सन्दर्भमा बाँकी समय पनि एमाले र कांग्रेस मिलेरै सरकार चलाउनु उपयुक्त हुने उनको सुझाव छ ।
एमाले–कांग्रेस मिल्नै नसक्ने अवस्था आएमा वा संवैधानिक संकट उत्पन्न भएमा मात्र नेकपाले सोच्न सक्ने उनले बताए । ‘यदि सरकार रिक्ततामा जाने वा संवैधानिक संकट आउने परिस्थिति भएमा सरकार बाहिर बसेर समर्थन गर्ने वा नीतिगत परिमार्जन र पूरक बजेट ल्याउने जस्ता निश्चित सर्तसहित सम्मानजनक सहभागितामा मात्रै सत्ता साझेदारी हुन सक्छ।’आङ्बोले भने,
कोशी प्रदेशको विशेष सन्दर्भमा चर्चा गर्दै पूर्वमन्त्रीसमेत रहेका आङ्बोले धारा १६८ को उपधारा ५ बमोजिम गठित केदार कार्की नेतृत्वको सरकार विस्थापित भई प्रदेश सभा विघटन हुन सक्ने हल्ला निराधार भएकाे बताए ।
‘बहुमत प्रदेश सभा सदस्यहरूको समर्थनमा सरकार बन्ने सम्भावना भएसम्म प्रदेश सभा विघटन नहुने संवैधानिक इजलासको व्याख्या छ,’आङ्बोले प्रष्ट पारे,’मुख्यमन्त्री वा मन्त्रीहरूबाट प्रदेश सभा विघटन हुन्छ भन्नु गलत नियत वा भ्रम मात्र हो ।’



















