‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १६:३३
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन

काठमाडौं । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा भइरहेको श्रम शोषणको अन्त्य र न्यायोचित पारिश्रमिकको माग गर्दै युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सुरक्षित र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनका क्रममा सहभागी चिकित्सकहरूले हातमा प्लेकार्ड बोकेर स्वास्थ्य क्षेत्रको विसंगतिविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले विशेष गरी प्रशिक्षार्थी (इन्टर्न) र युवा चिकित्सकहरूलाई न्यून पारिश्रमिकमा लामो समय काम लगाउने प्रवृत्तिको विरोध गरेका छन् ।

Advertisement

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ जस्तो मागका प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा चौबीसै घण्टा खटिनुपर्ने तर त्यसको बदलामा उचित सेवा सुविधा र सुरक्षा नपाउँदा चिकित्सकहरूको मानसिक र शारीरिक स्वास्थ्यमा समेत असर परिरहेको बताएका छन् । ‘डाक्टर थाकेको छ र बिरामी छ भने उसले दिने स्वास्थ्य सेवा कसरी गुणस्तरीय हुन्छ’, भन्दै उनीहरूले प्रश्न गरेका छन् ।

प्रदर्शनीमार्फत उनीहरूले सरकारलाई आफ्ना मागहरू छिटो सम्बोधन गर्न, काम गर्ने समयको वैज्ञानिक व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पारिश्रमिक र सम्मान प्रदान गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×