सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १५:५३

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा उत्साहपूर्ण माहोल देखिएको छ । लगातार पाँचौँ कारोबार दिन बजार बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले उकालो लागेर २७१९ अंकमा पुगेको छ । यो पछिल्लो करिब एक महिनायताकै उच्च स्तर हो ।

अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजार सोमबार पनि मजबुत सुधार देखिँदा दुई कारोबार दिनमै नेप्से परिसूचक करिब १२० अंकले उक्लिएको छ । जेठ २९ गते २७२४ अंक पुगेपछि पहिलो पटक नेप्से फेरि २७ सय अंकमाथि मजबुत रूपमा पुगेको हो ।

Advertisement

दिनभर हरियाली देखिएको बजार बन्द हुँदाको २७१९ अंक नै कारोबार अवधिको उच्चतम बिन्दु बनेको थियो । बजारसँगै कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ । यसले बजारमा खरिदकर्ताको दबाब बलियो रहेको देखाउँछ ।

समूहगत प्रदर्शनतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढ्यो । अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, लगानी १.५५ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, व्यापार १.१४ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र माइक्रोफाइनान्स ०.३७ प्रतिशतले उकालो लागे ।

हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमाउने कम्पनी बन्यो । त्यसपछि रिजलाइन इनर्जी १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेक १०.९५ प्रतिशत, सोलु हाइड्रोपावर ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ८.६१ प्रतिशत र शिखर पावर ७.८३ प्रतिशतले बढेका छन् ।

यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनीमा परेका छन् । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्स अग्रस्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×