
एजेन्सी । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । सय जनाभन्दा बढी मानिस अझै बेपत्ता छन् । घटनामा ८० जना घाइते भएका छन् ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार परेको अविरल वर्षापछि आएको बाढीले नुरिस्तानका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको हो । उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजीमा परिचालन गरिएको छ ।
बाढीका कारण प्रान्तीय राजधानी पारुनसहित प्रभावित क्षेत्रका घर, सार्वजनिक भवन तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । अधिकारीहरूले बेपत्ताको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।
मौसम विभागले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा थप बाढीको जोखिम रहने चेतावनी दिएको छ । त्यसलाई ध्यानमा राख्दै ३४ मध्ये १० प्रान्तमा उच्च सतर्कता (अलर्ट) जारी गरिएको छ ।
स्थानीय प्रशासनले नदी किनार, खोल्सा तथा बाढीको उच्च जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन् ।
अफगानिस्तानमा पछिल्ला वर्षहरूमा बाढीका घटना बढ्दै गएका छन् । गत वर्ष आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो । यस वर्ष मात्र बाढी र पहिरोसँग सम्बन्धित घटनामा ११० भन्दा बढीको मृत्यु भइसकेको छ ।



















