
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट अलग हुने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १६ जना प्रदेशसभा सदस्यले गत असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर, प्रस्तावमाथिको छलफलअघि नै कँडेलले पदबाट राजीनामा दिएका हुन् ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि कर्णाली प्रदेश सरकार पनि राजनीतिक अस्थिरताको चपेटामा परेको थियो । कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन अन्त्य भएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको थियो ।
यसअघि असार ३१ गते सत्ता साझेदार कांग्रेसका चार मन्त्रीले एकसाथ सरकारबाट बाहिरिने निर्णय गर्दै राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए । उनीहरूको राजीनामासँगै सरकारमाथिको राजनीतिक दबाब थप बढेको थियो ।
कँडेल २०८० साल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला तत्कालीन नेकपा (माओवादी केन्द्र)को समर्थनमा उनले सरकार गठन गरेका थिए । पछि केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेको थियो । त्यसकै प्रभावस्वरूप २०८१ साल साउनमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो ।
पछिल्लो समय भने सत्ता हस्तान्तरणसम्बन्धी पूर्वसहमति कार्यान्वयन नगरेको र एमालेले सहकार्यमा धोका दिएको आरोप कांग्रेसले लगाउँदै आएको थियो । कांग्रेसले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको भोलिपल्ट नै नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाएको थियो । त्यसपछि कांग्रेस र नेकपाका १६ सांसदले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै मुख्यमन्त्री कँडेलले राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

























