
काठमाडौं । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा आगामी साउन २५ देखि ‘१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । ललितपुरको ग्वार्काेस्थित सहआयोजक यला स्पोर्ट्स एकेडेमीमा हुने यो प्रतियोगिता साउन ३० गतेसम्म चल्नेछ ।
ब्याडमिन्टन संघले दिएको जानकारी अनुसार यस वर्षको प्रतियोगितामा कुल १५ वटा विधामा प्रतिस्पर्धा गराइने छ । जसमा शीर्ष ८ वरियताका पुरुष तथा महिला एकल, शीर्ष ८ बाहेकका पुरुष तथा महिला एकल, पुरुष तथा महिला युगल (ओपन), यु–११, यु–१५ र यु–१९ छात्र तथा छात्रा एकल, ३५ वर्षमाथिको खुला युगल, तथा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल विधा रहेका छन् ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध ६० जिल्ला र तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) का करिब ४०० खेलाडीहरूको सहभागिता रहने महासचिव सुनिलमान शाक्यले जानकारी दिए । विशेष आकर्षणका रूपमा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगलतर्फ विदेशी खेलाडीहरूलाई समेत निमन्त्रणा गरिएको छ ।
प्रतियोगिताको गरिमा बढाउन विश्व ब्याडमिन्टन परिषद् सदस्य एवं ब्याडमिन्टन एसिया विकास समितिका प्रमुख वाजिद अली चौधरी (पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष) को समेत उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल बजेट करिब ४१ लाख ५ हजार २ सय रुपैयाँ रहेको छ भने कुल पुरस्कार राशि १० लाख ७८ हजार रुपैयाँ तोकिएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजकले विशेष पुरस्कारको व्यवस्था समेत गरेको छ ।
लगातार तीन संस्करणमा उपाधि जित्ने खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ (यसअघि प्रिन्स दाहालले लगातार तीन पटक जितेर मोटरसाइकल प्राप्त गरिसकेका छन्) । शीर्ष ८ वरियताका खेलाडीहरूलाई लिग चरणमा सहभागिता जनाए बापत १५०० र प्रत्येक जितबापत थप १५०० रुपैयाँ प्रदान गरिनेछ ।
विजेता खेलाडीहरूले नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष ८ वरियताका खेलहरू लिग कम नकआउट आधारमा खेलाइने छ, जहाँ खेलाडीहरूलाई दुई समूहमा विभाजन गरी समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगितामा विजेता खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छन् । यस्तै तृतीय हुने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् ।
शीर्ष ८ बाहेकका पुरुष / महिला एकलमा विजेता खेलाडीले नगद ३० हजार, उपविजेता खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगलतर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यु–११ तर्फका विजयी खेलाडीहरूले क्रमशः नगद १५ हजार, ८ हजार र ४ हजार, यु–१५ तर्फका विजेताले नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१९ का विजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी ३५ वर्ष माथिको युगल, ४५ र ५५ वर्ष माथि मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४० हजार, २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

























