
सिरहा । सिराहाको लहानस्थित हस्पिटल चोकमा प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६ जनामध्ये दुई जना गम्भीर आपराधिक घटनामा संलग्न रहेको खुलेको छ ।
उनीहरूमध्ये एकजना सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी हुन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुईवटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंको टोलीले बिहीबार दिउँसो गोली हानेर पक्राउ गरेका व्यक्तिमध्ये सप्तरीको रुपनी गाउँपालिका–१ का ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २०८० साउन ३२ गते सप्तरी जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति रहेको खुलेको हो ।
उनी झुम्का कारागारमा कैद सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । यस्तै, सप्तरीको बोदेबर्साइन नगरपालिका–२ नेङ्गडा टोलका शम्भुप्रसाद यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको सिराह प्रहरीका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
प्रहरीका अनुसार यादवविरुद्ध २०७७ साउन १३ गते र २०८२ फागुन ५ गते ज्यान मार्ने उद्योगसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए । दुवै घटनापछि उनी फरार रहँदै आएका थिए ।
यसै घटनामा प्रहरीले बोदेबर्साइन–२ का २४ वर्षीय बैजनाथप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय जमाहिर आलम, ३२ वर्षीय मो. इमामुद्दिन तथा भारतको बिहार राज्यका २२ वर्षीय विद्यानन्द यादवलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























