
विराटनगर । दुई समूहबीचकाे विवाद र झडपका कारण सुनसरीको कप्तानगन्ज तनावग्रस्त हुँदा प्रहरीले गाेली चलाउनु परेको छ । प्रहरीकाे गाेली लागेर घाइते हुनेकाे संख्या ९ पुगेको छ ।
दुई समूहबीचकाे विवाद उग्र बनेपछि आइतबार राति करिब १०:१५ बजेबाट अवस्था नियन्त्रणबाहिर गएको थियाे । स्थिति नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले चलाएको गाेली लागेर एक जनाकाे मृत्यु भएकाे छ । हालसम्म ९ जना घाइते भएकाे विवरण प्राप्त भएको छ ।
गाेली लागेर घाइते भएका १० जनामध्ये एक जना पुरुषकाे उपचारका लागि विराटनगर पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर प्रकाश पराजुलीले जानकारी दिए । उनका अनुसार अरु घाइतेको उपचार भइरहेकाे छ । केहीकाे अवस्था गम्भीर रहेकाे बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।
उपचाररत घाइतेको अवस्थाका बारेमा थप जानकारी लिने काम भइरहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए । घटनामा नेपाल प्रहरीका एक जना इन्स्पेक्टर पनि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवानगन्जमा कार्यरत उनकाे टाउकाेमा पाँच टाँका लगाइएकाे छ । सुरक्षाकर्मीतर्फ घाइते हुनेकाे संख्या अझै धेरै भएको बताइएकाे छ ।
अवस्था तनावग्रस्त बनेपछि सुरुमा सुरक्षाकर्मीले लाठीचार्ज, अश्रुग्यास प्रहार र हवाई फायर गरेका थिए । स्थिति झन् भड्किएर नियन्त्रणबाहिर जान थालेपछि गाेली नै चलाउनुपर्ने अवस्था बनेको डीएसपी खड्काले बताए ।
दुई समूहबीचकाे विवाद बढेर आगजनी र ताेडफाेड हुँदा कप्तानगन्ज एरिया लामाे समयदेखि पूर्णरुपमा तनावग्रस्त बनेको उनकाे भनाइ छ । सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा र आक्रमण भएको थियाे । त्यस क्रममा निक्कै सुरक्षाकर्मी घाइते भएका छन् । संख्या यकिन हुन बाँकी रहेको जानकारी खड्काले दिए । गाेली लागेकाबाहेक झडपमा परेर घाइते हुने स्थानीयकाे संख्या पनि धेरै हुन सक्ने उनको भनाइ छ ।
विवाद उग्र बनेर दुई पक्षबीच सुरु भएको झडप र आक्रमणले हिंसात्मक रुप लिन थालेपछि स्थानीयकाे घर र पसलहरुमा समेत ताेडफाेड भएको प्रहरीले जनाएको छ । केही घर र पसलमा आगजनीकाे प्रयास समेत भएको छ । सवारीसाधनमा समेत आगजनी गरिएको छ । घटनास्थलमा ठूलाे संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ठूलाे संख्यामा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
जिल्लाभरका सुरक्षाकर्मीलाई कप्तानगन्ज केन्द्रित गरिएको छ । थप मद्दतका लागि विभिन्न स्थानबाट सुरक्षाकर्मी लैजाने क्रम जारी छ । अझै पनि काेही कसैले अराजक गतिविधि गरेमा र थप हिंसा भड्काउन खाेजेमा तत्काल गाेली चलाउन र परिस्थिति नियन्त्रणबाहिर जान नदिन जस्तोसुकै कदम चाल्न पनि सुरक्षाकर्मीलाई माथिल्लो तहबाट आदेश भइसकेकाे सुरक्षा स्राेतले बतायाे ।
सत्तारुढ रास्वपाका प्रतिनिभिसभा सदस्य लालविक्रम थापा घटनास्थल पुगेका छन् । उनले सबैलाई संयमित हुन र थप क्षति हुन नदिन सार्वजनिक रुपमा अपिल गरेका छन् । घटनाकाे थप जानकारी आउन बाँकी छ ।

























