
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीले सरकारसँग सातबुँदे सहमति भएपछि आफ्नो अनशन अन्त्य गरेका छन् ।
सरकार र डा. केसी पक्षबीच सोमबार भएको सहमतिपछि उनले जारी अनशन तोडेका हुन् । सहमतिमा सुदूरपश्चिमको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने प्रक्रियालाई तत्काल अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ ।
सहमतिअनुसार विश्वविद्यालयअन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा अन्य पूर्वाधार तयारी तत्काल सुरु गरिनेछ । साथै, एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राध्यापक, कर्मचारी भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी पनि शीघ्र पूरा गरिने उल्लेख छ ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्रचलित मापदण्डअनुसार मात्रै मेडिकल कलेजहरूको सिट निर्धारण गर्ने सहमति भएको छ । निजी मेडिकल कलेजमा नयाँ सिट थप नगर्ने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट विस्तार गर्न सकिने व्यवस्था गरिनेछ ।
विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था यथावत् राख्ने विषय पनि सहमतिमा समेटिएको छ । सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन् ।
यस्तो छ सरकार र डा. केसीबीचको सहमति



























