
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आफ्नो काम सुरु भएको छ ।
समितिले सोमबार राति विराटनगर आएर विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको बयान लिएको हो । गोली लागेर घाइते भएकामध्ये विराटनगरको न्युरो अस्पतालमा चार, विराट नर्सिङ होममा चार र नोबेल शिक्षण अस्पतालमा एक जनाको उपचार भइरहेको छ । छानबिन समितिले सबै अस्पतालमा पुगेर घाइतेहरुको बयान लिएको सुरक्षा स्रोतले बतायो ।
घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनी कारबाही सिफारिस गर्ने जिम्मेवारीसहित गठित पाँच सदस्यीय समिति विराटनगर आइपुगेलगत्तै छानबिन प्रक्रिया अघि बढेको छ । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
गृह मन्त्रालयमा गृहमन्त्री गुरुङको नेतृत्वमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । समितिलाई सात दिनभित्र घटनासम्बन्धी प्रतिवेदन तयार पारेर सरकारसमक्ष बुझाउन निर्देशन दिइएको छ ।
समितिका सदस्यहरूले उपचाररत घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग भेटेर घटनाको बारेमा बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेका छन् । घाइतेहरूको भनाइ, घटनाको प्रकृति तथा उपलब्ध प्रमाणलाई छानबिनको महत्वपूर्ण आधार बनाइने छ ।
समितिले देवानगगन्जको कप्तानगन्ज पुगेर घटनास्थलको स्थलगत निरीक्षण गर्ने तयारीसमेत गरेको छ । घटनास्थलको अवस्था, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण, उपलब्ध भिडियो तथा अन्य प्रमाणको अध्ययन गरी घटनाको वास्तविकता पत्ता लगाइने समितिले जनाएको छ ।
प्रारम्भिक छानबिनपछि घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्ति तथा निकायमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरिने बताइएको छ । गृह मन्त्रालयले निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न समितिलाई स्पष्ट निर्देशन दिएको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बन्न पुग्यो । त्यसपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्युकै समयमा कप्तानगन्ज, इनरुवा लगायत विभिन्न स्थानमा हिंसात्मक घटनाहरु पनि भएका छन् । आक्रमण, आगजनी, तोडफोड र कुटपिटका घटना भएका हुन् । अवस्था सामान्य बन्दै गएपछि तत्कालाई कर्फ्यु हटाइएको छ । कप्तागन्ज क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा लगाइएको छ । घटनापछि सोमबार नै गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा बैठकसमेत बसेको थियो ।
बैठकले घटनाको गम्भीर समीक्षा गर्दै निष्पक्ष छानबिनमार्फत वास्तविकता सार्वजनिक गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर घटनाको कारण, सुरक्षा व्यवस्थापनमा भएका कमजोरी तथा जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाइने गृह मन्त्रालयले जनाएको छ ।



















