
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिका प्रभावकारी नरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देवानगन्ज घटनाका बारेमा छलफल गर्न सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बोलाएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भूमिकाप्रति थापा असन्तुष्ट देखिएका हुन् ।
उनले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले सबै राजनीतिक दल, सरोकारवाला पक्ष र सञ्चारमाध्यमसँग समन्वयकारी भूमिका खेल्नुपर्ने भए पनि त्यस्तो पहल नदेखिएको बताए । बैठकमा आफूले प्रधानमन्त्रीले यस विषयमा सञ्चारमाध्यमसँग संवाद गरे–नगरेको प्रश्नसमेत उठाएको जानकारी दिँदै थापाले यस्ता घटनामा सञ्चारमाध्यमको जिम्मेवार रिपोर्टिङको विशेष महत्व रहने धारणा राखे ।
देवानगन्ज घटनापछि उत्पन्न अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय, शान्ति–सुरक्षा व्यवस्थापन तथा आगामी कदमबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, कांग्रेसका सभापति थापा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउतसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका थिए ।
थापा भने बैठकबाट बाहिरिएका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव कायम गर्ने उपाय र राजनीतिक तहबाट साझा धारणा बनाउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ ।
घटनापछि विभिन्न स्थानमा तनाव बढ्दै गएपछि राजनीतिक दलहरूबीच साझा समझदारी कायम गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको हो । यद्यपि, कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा सहभागी हुनुपर्ने भएकाले सभापति थापा सर्वदलीय बैठक नसकिँदै बाहिरिएका छन् ।
कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएपछि शोक प्रस्ताव पारित गर्न पार्टीको आकस्मिक बैठक बोलाइएको हो ।

























