रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:४८

एजेन्सी । रुसले बिहीबार युक्रेनमाथि गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी किभदेखि पश्चिमी सहर लभिभसम्म भएका यी आक्रमणका कारण छिमेकी देश पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि फाइटर जेट तयारी अवस्थामा राखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्वदेश फर्किएलगत्तै रुसले यो आक्रमण गरेको हो। भेटमा अमेरिकाले युक्रेनलाई प्याट्रियोट मिसाइल उपलब्ध गराउन सहमति जनाएको जेलेन्स्कीले बताएका थिए। आक्रमणपछि युक्रेनका अधिकांश क्षेत्रमा हवाई खतराको साइरन बजेको थियो।

Advertisement

आपतकालीन सेवाका अनुसार किभमा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्। ड्निप्रोपेत्रोभ्स्क र पोल्टाभा क्षेत्रमा दुई बालबालिकासहित थप ६ जनाको ज्यान गएको छ।

राष्ट्रपति जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा रुसले इस्कान्देर-एम ब्यालिस्टिक मिसाइल प्रयोग गरी एउटा आवासीय घरमा प्रहार गर्दा ५ र १२ वर्षका दुई बालिका सहित ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। क्रिभी रिहका रक्षा परिषद् प्रमुख ओलेक्सान्द्र विल्कुलले रुसको भोरोनेझ क्षेत्रबाट प्रक्षेपण गरिएको मिसाइलले ठूलो क्षति पुर्‍याएको र भग्नावशेष हटाउने काम जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

यस्तै पश्चिमी युक्रेनको लभिभमा दुईवटा अपार्टमेन्ट भवनमा क्षति पुग्दा कम्तीमा १५ जना घाइते भएका छन्। आक्रमणअघि नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी नागरिकको सुरक्षा सहयोगी राष्ट्रहरूले उपलब्ध गराउने हवाई प्रतिरक्षा प्रणालीमा निर्भर रहेको बताएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×