
एजेन्सी । इरान–अमेरिका तनावका बीच पहिलोपटक इजिप्टको डामिएटा बन्दरगाह ड्रोन आक्रमणको निशानामा परेको छ ।
इजिप्ट सरकारले बुधबार डामिएटा बन्दरगाहमा रहेका दुई ग्यास ट्यांकरमा लागेको आगो दुर्घटना नभई ड्रोन आक्रमणका कारण भएको जनाएको छ । यसका बारेमा अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले पनि सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।
रिपोर्टअनुसार अमेरिकी कम्पनीको स्वामित्वमा रहेको प्राकृतिक ग्यास भण्डारण ट्यांकर एनर्गोस विन्टरलाई लक्षित गरी ड्रोन प्रहार गरिएको थियो । त्यसपछि नजिकै रहेको ग्यासलग सलेम नामक अर्को ग्यास ट्यांकरमा पनि आगलागी भएको बताइएको छ ।
द न्यूयोर्क टाइम्सले दुई इरानी स्रोतलाई उद्धृत गर्दै यस आक्रमणको उद्देश्य क्षेत्रीय द्वन्द्व थप चर्किएमा विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री ढुवानीमा गम्भीर असर पर्न सक्ने सन्देश दिनु रहेको दाबी गरेको छ । घटनाका बारेमा इजिप्टले थप अनुसन्धान जारी राखेको छ ।

























