
एजेन्सी । उत्तर अफ्रिकामा रहेको स्पेनको स्वायत्त क्षेत्र सिउटामा मोरक्कोतर्फबाट ठूलो संख्यामा आप्रवासी प्रवेश गर्न थालेपछि स्थानीय प्रशासनले मानवीय तथा सामाजिक संकटको अवस्था घोषणा गरेको छ ।
स्थानीय प्रशासनका अनुसार पछिल्ला १० दिनभित्र करिब १ हजार ५ सयदेखि २ हजारसम्म आप्रवासी सिउटा पुगेका छन् । पछिल्लो समय मात्रै सयौं मानिस सीमा पार गरेर स्पेनी भू–भागमा प्रवेश गरेको अनुमान गरिएको छ । बढ्दो चापका कारण क्षेत्रीय प्रशासनले अवस्था नियन्त्रण गर्न स्पेन सरकारसँग थप सुरक्षा सहायता मागेको छ ।
सिउटाका क्षेत्रीय प्रमुख जेसस भिभासले सीमाको सुरक्षा मजबुत बनाउन सेना परिचालन गर्न आग्रह गरेका छन् । उनले वर्तमान अवस्थालाई ‘पूर्ण मानवीय तथा सामाजिक संकट’ को संज्ञा दिएका छन् । यद्यपि, स्पेनको गृह मन्त्रालयले राष्ट्रियस्तरको आपत्काल घोषणा आवश्यक नरहेको बताएको छ ।
गृह मन्त्रालयले संकट व्यवस्थापनका लागि थप जनशक्ति र स्रोतसाधन उपलब्ध गराइने जनाएको छ । सोहीअनुसार सीमा सुरक्षामा सहयोग पुर्याउन ६० जना सैनिक परिचालन गर्ने निर्णय गरिएको छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोहरूमा केही आप्रवासीहरू ‘भिभा एस्पाना’ भन्दै नारा लगाउँदै स्पेन प्रवेश गरेको देखिन्छ । अधिकांशले मोरक्कोबाट साना हावाभरिने डुंगा प्रयोग गरी समुद्री मार्गबाट सीमा पार गरेका थिए भने केही समूहले ब्रेकवाटर हुँदै सिउटाको तटीय क्षेत्रमा प्रवेश गरेका थिए ।
स्पेनी सञ्चारमाध्यमका अनुसार केही आप्रवासीले स्थलमार्गमा रहेको तारबार नाघेर पनि सीमा पार गरेका छन् । आप्रवासी अधिकारकर्मी जकारिया जारोकीले अहिलेको अवस्था सन् २०२१ मा भएको ठूलो आप्रवासी लहरसँग मिल्दोजुल्दो रहेको बताएका छन् । त्यसबेला केही दिनमै करिब १० हजार मोरक्कन तथा उप(सहारा अफ्रिकी नागरिक सिउटामा प्रवेश गरेका थिए ।
जारोकीका अनुसार अहिले पनि मोरक्कोको फिनिदेक क्षेत्रमा ठूलो संख्यामा मानिस सीमा पार गर्ने प्रतीक्षामा रहेका छन् । यसले आगामी दिनमा सिउटामा आप्रवासीको चाप अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

























