
एजेन्सी । इराकमा रहेका इरानसँग सम्बन्धित हतियार तथा बन्दोबस्तीका सामग्री राखिएका स्थलहरूमा अमेरिकी र साउदी अरेबियाली सेनाले संयुक्त आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आफ्नो टेलिग्राम च्यानलमार्फत वक्तव्य जारी गर्दै उक्त घटनाको पुष्टि गरेको छ।
आक्रमणले बगदाद, वासित, निनेवेह, बसरा, किरकुक, कर्बला र दियाला प्रान्तहरूमा रहेका पीएमएफका संरचनाहरूलाई निशाना बनाएको छ। जसका कारण कयौँ सैन्य मुख्यालय, सवारी साधन र सैन्य उपकरणहरूमा व्यापक क्षति पुगेको छ।
सो समूहको ३० औँ ब्रिगेडले सामाजिक सञ्जालमा जारी गरेको अर्को वक्तव्य अनुसार उत्तरी इराकी प्रान्त निनेवेहका प्रमुख स्थलहरूमा स्थानीय समय अनुसार बिहान करिब ३:२० बजे सात वटा हवाई आक्रमण भएका थिए। उक्त आक्रमणमा मात्रै १० जनाको मृत्यु र ६ जना घाइते भएको जनाइएको छ।
घटनापछि इराकी प्रधानमन्त्री अली फलिह अल-जैदीले राष्ट्रिय सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

























