
विराटनगर । सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका छन् ।
स्थानीयको विरोध र असन्तुष्टिसँगै शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फर्किएपछि शुक्रबार गर्ने भनिएको अन्त्येष्टि अन्योलमा परेको छ । यद्यपि, प्रहरीले समन्वय गरेर मिलाउने प्रयास गरिरहेको छ । गत आइतबार राति कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भयो । दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ । सरकार र मृतक पक्षबीच बिहीबार राति सहमति भए पनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मृतक परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएपछि सहमति भएको हो ।
सहमतिपत्रमा सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताको तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङको हस्ताक्षर रहेको छ । सहमतिपत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ ।
यद्यपि, अन्त्येष्टिका लागि उल्लेख गरिएको समय आइसक्दा पनि पोस्टमार्टम प्रक्रिया नै सुरु हुन सकेन । अनुसन्धान अधिकारीहरु मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बिहानैदेखि तयारी अवस्थामा बसेका थिए । मृतकका परिवार र आफन्त शव बुझ्न विराटनगर पुगे पनि केहीबेरपछि शव नबुझ्ने अडानसहित गाउँ फर्किएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्रीकै उपस्थितिमा मृतकका सोझासिधा परिवारका सदस्यलाई फकाएर तथा दबाबमा पारेर सहमति गराइएको भन्दै स्थानीयस्तरमा विरोध भइरहेको छ । यही विरोधपछि शव बुझ्न पुगेका परिवारका सदस्य र आफन्त पुनः देवानगन्ज फर्किएका हुन् ।
देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले पनि गृहमन्त्री सुधन गुरुङप्रति असन्तुष्टि जनाएका छन् । गोलीकाण्डपछि घटनास्थल पुगेका गृहमन्त्रीले स्थानीय तहसँग आवश्यक समन्वय नगरी बैठक र छलफल गरेको भन्दै उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् । संकटका बेला स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा स्थानीय सरकारलाई बेवास्ता गरिएको उनको आरोप छ ।
अध्यक्ष मेहताले सरकार र मृतक पक्षबीच देवानगन्ज गाउँपालिकामा छलफल भए पनि स्थानीय सरकारलाई बेवास्ता गरिएको बताए । तर, सबैको आग्रहपछि मेहता मृतक र सरकार पक्षको छलफलमा सहभागी भएका थिए । मेहताको असन्तुष्टिलाई स्थानीय बासिन्दा, मृतकका परिवारका सदस्य तथा आफन्तले पनि समर्थन गरेपछि शव उठाउने प्रक्रिया प्रभावित भएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले भने परिवारले शव बुझ्न अस्वीकार गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सरकार र मृतक पक्षबीच सहमति भइसकेको छ । शव बुझेर शुक्रबार नै अन्त्येष्टि गर्ने सहमति भएको हो । त्यहीअनुसार देवानगन्जको सुरक्षा व्यवस्था मिलाइसकिएको छ । तर, अहिले आएर शव बुझ्न अस्वीकार गरेको कुरा मलाई थाहा भएन ।’
कप्तानगन्जमा सशस्त्रले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार भइरहेको छ । घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइन्छ ।
गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनसँगै हिंसा फैलिँदा जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए ।
बुधबारदेखि सुनसरीको अवस्था केही मत्थर भए पनि त्यसको प्रभाव मधेश प्रदेशसम्म पुगेको छ । सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको मृत्यु भइसकेको छ ।
























