
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री तथा पूर्वसांसद धवल शम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन गर्ने भएका छन्। बुधबार बसेको विभिन्न समितिको संयुक्त बैठकले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको नेता सगुनसुन्दर लावतीले जानकारी दिए।
घोषणाकै दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ। सहमतिका अनुसार नयाँ पार्टीको अध्यक्षमा धवल शम्शेर राणा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहनेछन्। चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल जारी रहेकाले टुङ्गो लाग्न बाँकी छ।
राणाले जेठ १७ गते राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूसहित पार्टी परित्याग गरेका थिए। त्यसपछि जेठ २२ गते राणा र प्रसाईंबीच नयाँ पार्टी गठन गर्ने सहमति भएको थियो। सहमतिलगत्तै प्रसाईंले सञ्चालन गर्दै आएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ विसर्जन गरेका थिए।
संवैधानिक राजतन्त्र र सनातन हिन्दु धर्मको विचारलाई समेटेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ उनीहरू एक ठाउँमा आएका हुन्। यसअघि २०८१ चैत १५ मा काठमाडौँमा भएको राजसंस्था पुनर्स्थापना आन्दोलनमा पनि उनीहरू एकापसमा सहकार्य गर्दै आएका थिए।

























