
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी विराटनगर विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका छन् । उनी काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः०५ बजेतिर विराटनगर ओर्लिएका थिए ।
विमानस्थलमा ओर्लनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरी टोली विराटनगर विमानस्थलमा पुगेको थियो । पक्राउ परेका गिरीमाथि आपराधिक लाभको कसुरमा थप अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
कटवालका अनुसार गिरीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको छ । अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको जानकारी उनले दिए ।
गुन्डागर्दी पृष्ठभूमिका गिरीलाई काठमाडौं जिल्ला अदालतले यसअघि धरौटीबापत ५ लाख रूपैयाँ लिएर छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर छुटे पनि मोरङ प्रहरीले पक्राउ गर्ने बुझेपछि उनले धरौटीबापतको रकम बुझाएका थिएनन् ।
धरौटी नबुझाएपछि डिल्लीबजार कारागार चलान गरिएको थियो । धरौटी बुझाएर छुटेका उनी काठमाडौंबाट विराटनगर आइपुग्नसाथ पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको भनेर किटानी जाहेरी दिएका थिए ।
उक्त जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गिरीलाई गत असार २३ गते विराटनगरबाट पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं लगेको थियो । गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको भन्दै उक्त रकम बिगो मागदाबी गरेर सीआईबीले मुद्दा अदालत लैजानुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, आदेशअनुसारको रकम नतिरेपछि कारागार चलान गरियो । श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै गिरीले ठगी गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।
अब गिरीविरुद्ध मोरङ प्रहरीले आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाउने छ । मोरङ कारागारका कैदी बन्दीहरुबाट असुली गरेको आरोपमा मोरङ प्रहरीले असार १३ गते गिरीलाई घरबाटै पक्राउ गरेको थियो ।
उक्त घटनामा अदालतबाट हाजिर जमानीमा छुटे पनि सीआईबीले नियन्त्रणमा लिएर गिरीमाथि अनुसन्धान गरेको हो । अपराधिक पृष्ठभूमिका गिरी यसअघि पनि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल बसेर २०७९ चैत ५ गते छुटेका थिए ।

























