
काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै गुनासो गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन्।
पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज नभएको, कतिपय स्थानमा उपभोक्ताले लामो समय कुर्नुपरेको तथा ग्यासका लागि अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो बढेपछि मन्त्री यादवले उद्योगमै पुगेर आपूर्ति अवस्थाबारे जानकारी लिएकी हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले उद्योगको ग्यास भण्डारण, आयात, बोटलिङ तथा बजारमा भइरहेको वितरण प्रणालीबारे जानकारी लिँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन उद्योग व्यवस्थापनलाई निर्देशन दिएकी छन्। उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई दुःख दिने प्रवृत्ति देखिएमा तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छन्।
खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउँदै मन्त्री यादवले उपभोक्तालाई सहज, नियमित र उचित मूल्यमा ग्यास उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन्। अनुगमनका क्रममा उद्योग व्यवस्थापनले ग्यासको आपूर्ति तथा वितरण अवस्थाबारे मन्त्रीलाई जानकारी गराएको थियो।

























