
काठमाडौं । कर्णाली विकास बैंकमा भएको ठुलो आर्थिक अनियमितता र बैंकिङ कसुरको आरोपमा प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले तत्कालीन सिइओ नीरजविक्रम शाहसहित तीन जनालाई नेपालगन्जबाट पक्राउ गरेको हो ।
शाहसहित उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विगत केही महिनादेखि कर्णाली विकास बैंक वित्तीय अनियमितताका कारण विवादको घेरामा थियो । बैंकबाट प्रवाह भएका कर्जाहरू जोखिमपूर्ण रहेको, नक्कली धितोका आधारमा रकम निकालिएको र बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई जानाजानी कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।
बैंकको वित्तीय अवस्था नाजुक बन्दै गएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत यसमाथि विशेष निगरानी बढाएको थियो । सोही क्रममा भएको छानबिनमा ठुलो परिमाणमा रकम दुरुपयोग भएको फेला परेपछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको हो ।
बैंकको व्यवस्थापन तहबाटै आन्तरिक प्रक्रिया मिचेर निर्णयहरू गरिएको पाइएको छ । ठुलो रकम अनियमित रूपमा कर्जा प्रवाह गरिएको, धितोको मूल्याङ्कन र कागजातमा गम्भीर त्रुटि देखिएको तथा आन्तरिक प्रक्रिया विपरीत निर्णय गरिएको आशंकामा अनुसन्धान थालेको हो ।
यस प्रकरणमा अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरू हाल फरार रहेको प्रहरीले जनाएको छ। केही प्रतिवादीहरू भने यसअघि नै प्रहरी पक्राउ गरिसकेको छ ।
पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमितता सम्बन्धी कानुनी अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

























