
इलाम । मेची राजमार्गको ‘लाइफलाइन’ मानिने इलाम–राजदुवाली सडक खण्ड एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरूको जनजीवन निकै प्रभावित भएको छ । गत असार २३ गते इलाम नगरपालिका–९ स्थित राजदुवालीमा गएको ठुलो पहिरो र सडक भासिएका कारण यातायात सञ्चालन हुन नसकेको हो ।
सडक खुलाउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय बासिन्दा निरन्तर लागिपरेका छन् । तर, लगातारको वर्षा र लेदोसहितको पहिरोले काममा बाधा पुर्याइरहेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार सडक भासिएको ठाउँमा पुरेर ग्राभेल गर्ने र भित्तापट्टि अस्थायी ड्रेन बनाउने तयारी छ । ‘तीन–चार दिन घाम लागे मात्र कामले पूर्णता पाउने देखिन्छ, तर अलिकति पानी पर्नासाथ पुनः भासिने समस्याले चुनौती थपेको छ,’ प्रजिअ ढकालले भने ।
सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सिधा सडक सम्पर्क टुटेको छ। झापाबाट आएका गाडी माई खोला पारि र पहाडबाट झरेका गाडी माई खोला वारि नै रोकिने गरेका छन् । यात्रुहरू करिब डेढ किलोमिटरको जोखिमपूर्ण बाटो पैदल हिँड्न बाध्य छन् । बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीले स्ट्रेचरमा बोकेर पहिरो प्रभावित क्षेत्र वारपार गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले गत असार १७ गतेदेखि नै त्यहाँ सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरी सेवा दिइरहेको छ ।
सडक बन्द भएसँगै इलाम बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। ढुवानी खर्च तीन गुणासम्म बढेको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । ‘साना गाडीबाट सामान ल्याउनुपर्दा लागत धेरै परेको छ,’ उनले भने । बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । विद्युत् आपूर्ति पनि अनियमित हुँदा इन्डक्सन चुलो प्रयोग गर्नेहरू र विशेष गरी डेरा गरी बस्ने विद्यार्थीहरू मारमा परेका छन् ।
मेची कोरिडोर र अन्य वैकल्पिक सडकहरूमा पनि पुल नहुँदा समस्या झनै बल्झिएको छ। वर्षाका कारण बनाइएका अस्थायी डाइभर्सनहरू बाढीले बगाउने गरेकाले हाललाई झापा झर्ने कुनै भरपर्दो विकल्प छैन । गत असोजमा पनि यो सडक १४ दिन बन्द भएको थियो, तर यस पटक एक महिना नाघिसक्दा पनि सडक सञ्चालन हुन नसक्नुले यहाँको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पुर्याएको छ।

























