
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार (आज) पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
साउन २४ गतेदेखि सुरु भएको यो बैठकमा पार्टीको आन्तरिक संगठनका साथै मुलुकको समसामयिक राजनीतिक र आर्थिक मुद्दाहरूमा घनीभूत छलफल भइरहेको छ।
सोमबार बसेको बैठकले आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै खाना पकाउने ग्यासको आयात र भण्डारण बढाउन सरकारसँग माग गरेको छ । आपूर्ति सञ्जाललाई व्यवस्थित गरी जनतालाई राहत दिन आग्रह गर्दै कांग्रेसले ग्यासको विकल्पमा विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले ‘इन्डक्सन’ चुलोलगायतका विद्युतीय उपकरणमा उपभोक्तालाई सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा किसानहरूले भोग्नुपरेको समस्यालाई पनि प्राथमिकताका साथ उठाइएको छ । कांग्रेसले किसानलाई समयमै र सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कृषि क्षेत्रमा व्याप्त कालोबजारी र बिचौलियाको अन्त्य गर्न माग गरेको छ ।
यसैगरी, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानले भोग्नुपरेको सास्तीको स्थायी समाधानका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।
पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले राखेको धारणा र समसामयिक प्रस्तावहरूमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ। यो बैठकको नेतृत्व सभापति गगनकुमार थापाले गरिरहेका छन्।

























