
विराटनगर । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा प्रतिपेटी (सात क्रेट) तीन हजार रुपैयाँ समर्थन मूल्य कायम गरिएको छ।
बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारमा माग निकै बढेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। माग बढेसँगै फार्महरूले दिएको दरका आधारमा नयाँ समर्थन मूल्य जारी गरिएको उनले बताए। मूल्य बढे पनि किसानले अझै लागत मूल्य पाउन नसकेको व्यवसायीहरूको भनाइ छ। अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ, जसअनुसार प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा हुन आउँछ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको र लागत मूल्य नपाउँदा विगत केही वर्षदेखि यस पेसाबाट पलायन हुने क्रम बढेको छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु र उचित मूल्य नपाउँदा किसानहरू बैंकको ऋणको भरमा पर्न बाध्य भएका छन्।



















