बढ्दो गर्मीको मारमा विराटनगर, विपन्न समुदाय बढी पीडित

Share this
733shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २७, बुधबार ११:२५

विराटनगर । जलवायु परिवर्तनका कारण विश्वभर बढ्दै गएको गर्मीको प्रत्यक्ष चपेटामा कोशी प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक सहर विराटनगर पनि परेको छ। पछिल्ला वर्षहरूमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ भने बिहानैदेखि तातो हावा चल्ने र अत्यधिक आर्द्रताका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

गर्मीको सबैभन्दा ठूलो असर दैनिक ज्यालादारी गर्ने मजदुर, रिक्सा चालक, फुटपाथ व्यापारी तथा विपन्न बस्तीका नागरिकमा परेको छ। जस्तापाताका छाना भएका घर, पर्याप्त हावा नआउने कोठा, नियमित विद्युत् अभाव र शुद्ध खानेपानीको असुविधाले गर्दा विपन्न परिवारका लागि गर्मी झनै कष्टकर बनेको छ। गर्मीकै कारण स्थानीय विद्यालयका विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुने गरेका छन् भने दिउँसो काम गर्न नसक्दा मजदुरहरूको आम्दानी घटेको छ।

गर्मी बढेसँगै विराटनगरस्थित कोशी अस्पतालमा झाडापखाला, भाइरल ज्वरो, उच्च रक्तचाप, छालासम्बन्धी समस्या र बेहोस हुने बिरामीको चाप ह्वात्तै बढेको छ। कोशी अस्पतालका डा. अनिष श्रेष्ठका अनुसार बिरामीको संख्या बढ्दा सीमित बेडमै उपचार गर्नुपर्ने बाध्यता छ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत भुपेन्द्र शाहले जलवायु परिवर्तन स्थानीय जनजीवनमा प्रत्यक्ष देखिन थालेकाले समयमै वैकल्पिक उपाय नअपनाए भविष्यमा गम्भीर संकट निम्तिने चेतावनी दिए।

गर्मीका बेला बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुनु र ट्रान्सफर्मर बिग्रिनुले समस्या झन् बढाएको स्थानीयको गुनासो छ। यस्तो अवस्थामा स्थानीय तहले तत्काल ‘हिट एक्सन प्लान’ बनाएर सहरमा हरियाली बढाउने, सार्वजनिक स्थलमा खानेपानी र विश्रामस्थलको व्यवस्था गर्ने तथा पूर्वचेतावनी प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।

उसो त बढ्दो तापक्रमका कारण विश्वभरि नै समस्या देखिन थालेको छ। अमेरिकास्थित ‘क्लाइमेट इम्प्याक्ट ल्याब’को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण विश्वभर हरेक वर्ष करिब ४ लाख ३० हजार मानिसको मृत्यु हुन सक्ने अनुमान छ।

विश्वका १८ उच्च जोखिमयुक्त देशको सूचीमा परेको नेपालको करिब ३२ प्रतिशत जनसंख्या गर्मीको प्रत्यक्ष जोखिममा रहेको प्रतिवेदनले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×