
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ। कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ। बिहीबार नेप्से सूचक ८.८१ अंकले बढेको थियो। शुक्रबार १ सय १ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ र व्यापार समूह २.५७ प्रतिशतले घटेका छन्।
जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह भने ०.४४ प्रतिशतले बढेका छन्।हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशतले बढेको छ। रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा खानीखोला हाइड्रो अगाडि छ। सबैभन्दा धेरै रकम बराबरको कारोबार भने कृषि विकास बैंक बन्डको भएको नेप्सेले जनाएको छ। त्यसैगरी लिबर्टी इनर्जी, न्याग्दी हाइड्रोपावर र एनआरएन इन्भेस्टमेन्ट कम्पनीको धेरै रकमको शेयर कारोबार भएको छ।

























