
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको बैठकमा छलफल भइरहेको छ। सरकारमा सहभागी हुने मन्त्रीका आकाङ्क्षी धेरै भएपछि सहमतिको प्रयासका लागि बैठक डाकिएको हो।
विराटनगरस्थित प्रदेशसभा सचिवालयमा नेकपा कोशीका इन्चार्ज राजेन्द्र राई र प्रदेश संयोजक हर्क नेम्वाङसहितका नेताहरूको उपस्थिति छ। नेकपाका १७ जना सांसदमध्ये साविक माओवादीका १३ र साविक एकीकृत समाजवादीका ४ जना छन्। सत्ता साझेदार मुख्य दल नेकपा एमाले कोशी प्रदेशमा नेकपालाई ४ वटा मन्त्रालय दिन सहमत भएपछि दौडधुप तीव्र बनेको छ।
पार्टीभित्र साविक एकीकृत समाजवादीले १ र माओवादी केन्द्रले ३ मन्त्री पाउने गरी आन्तरिक समझदारी बनेको नेताहरुले बताएका छन्। एकीकृत समाजवादी समूहबाट दुई महिला सांसद खिनु लङवा लिम्बू र विद्या चाम्लिङबीच मन्त्री बन्ने प्रतिस्पर्धा छ।
पूर्व माओवादी समूहबाट भने एक दर्जन सांसद मन्त्रीका आकाङ्क्षी देखिएका छन्। मन्त्री बन्न पूर्वमन्त्री भइसकेका जीवन आचार्य, बाबुराम गौतम, दुर्गा चापागाईं, गणेश उप्रेती र राजेन्द्र कार्कीबीच प्रतिस्पर्धा चलेको छ।
पार्टीभित्र पुरानै अनुहारलाई दोहोर्याउनुको सट्टा नयाँलाई अवसर दिनुपर्ने दबाब नेतृत्वमाथि परेको छ। नयाँलाई पठाउने निर्णय भएमा गोम्बु शेर्पा, गीता तिम्सिना, राजन किराती र सपना दर्जीको सम्भावना बलियो रहेको बताइन्छ।
यता मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेका मन्त्रीहरू भने तत्काल नहट्ने भएका छन्। नेकपाको संसदीय दलको बैठकले मन्त्रीको नाम टुङ्गो लगाए सोमबारसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी छ।



















