‘बीपीका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढ्यो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार २०:४२

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्।

धर्म गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा आइतबार बोल्दै उनले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै उनको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताए। कांग्रेसका नेताहरूले आफ्ना निर्णय आफैँ गर्ने हिम्मत नभएपछि राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बीपीलाई सम्झिने गरेको टिप्पणी उनले गरे।

Advertisement

आफूलाई जहाँ चाहिन्छ, त्यहाँ बीपीलाई प्रयोग गर्ने प्रवृत्तिले उनको वास्तविक विचारलाई कमजोर बनाउने उनले स्पष्ट पारे। साथै बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो।

‘हाम्रो परम्परा आफूलाई जहाँ निर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने रह्यो,’ थापाले भने, ‘अहिले पनि ठाउँ-ठाउँमा भएका छलफलहरूमा बीपीको राष्ट्रिय मेलमिलापको प्रसङ्ग व्यापक आइरहेको छ। आफैँ निर्णय गर्ने हिम्मत नभएपछि बीपीको सहारा लिने गरिएको छ।’

काठमाडौँमा बसेर बीपीको अपव्याख्या र मिसकोट गरिँदा उनको आह्वानमा आन्दोलनमा उत्रेका पुराना अभियान्ताहरूले अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्ने उनले बताए।

बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बीपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए। उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बीपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने थापाको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.