
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई संवादमार्फत निकास खोज्न आग्रह गरेका छन्। कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’का क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्रका विवाद अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताए।
‘नयाँ दृष्टिकोण र ऊर्जाले गइरहेको बेलामा हामी सबै आदरणीय नेताहरूलाई पनि आग्रह गरिरहेका छौँ। अब मुद्दा मामिलाको बाटो संविधानले, कानूनले दिन्छ। त्यसमा जाँदै गर्दा हामी त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानु छ,’ उनले भने।
शर्माले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति पाँच वर्षका लागि नआएको स्पष्ट पारे। असोजमा महाधिवेशन हुने उल्लेख गर्दै उनले सभापति, उपसभापति तथा महामन्त्री बन्न चाहने सबैका लागि पार्टीमा ढोका खुला रहेको बताए।
‘असोजको महिनामा महाधिवेशन हुँदै छ। कसलाई आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ। हामी त्यही कुराका लागि अपिल पनि गर्न चाहन्छौँ,’ शर्माले भने। उनले राजनीतिक दलहरूको भूमिका राजनीतिक विषयवस्तुमा मात्रै सीमित नहुने बताए। संविधान निर्माण तथा संशोधन, सरकार गठन र निर्वाचनमा जित–हारलगायत विषय पनि राजनीतिसँगै जोडिएको उनको भनाइ थियो।

























