
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार प्रदेश सरकारमा नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
यसअघि गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच कोशी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार सरकार पुनर्गठन भएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार पुनः विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभा बैठकमा उपस्थित ६२ सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।
पहिलो पटक विश्वासको मत लिँदा एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का तीन र जनता समाजवादी पार्टी नेपालका एक प्रदेशसभा सदस्यले कार्कीको पक्षमा मतदान गरेका थिए।
एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए।
कोशी प्रदेशसभामा कुल ९२ सदस्य छन्। हाल एमालेका ४० र नेपाली कांग्रेसका २९ सदस्य छन्। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। यस्तै, राप्रपाका सभामुखसहित पाँच र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन्।

























