मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ११:२९

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सोमबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय गरेको छ।

प्रदेशसभा सचिवालयमा सोमबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका सचेतक रमेशकुमार बस्नेतले जानकारी दिए।

Advertisement

मुख्यमन्त्री कार्कीले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

यसअघि गत साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभा बैठकमा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यतिबेला कार्कीलाई एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का तीन र जनता समाजवादी पार्टी नेपालका एक प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए।

एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ सांसद सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। यस्तै, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित पाँच र जसपाका एक सांसद छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×