मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १६:०१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा आफूलाई विश्वासको मत मागेका छन्। आज (सोमबार) बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत दिन प्रदेश सभा सदस्यहरूसँग आग्रह गरेका हुन्। त्यस क्रममा मुख्यमन्त्री कार्कीले नेकपासँगको सहकार्य मन्त्री बनाउनका लागि मात्रै नभएको बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि दूरी धेरै टाढा नरहेको उल्लेख गर्दै उनले सहकार्यको सम्भावना कायमै रहेको बताए।

Advertisement

आफ्नो कार्यकालमा भएका उपलब्धि प्रस्तुत गर्दै कार्कीले कोशी प्रदेश दूध र गहुँ उत्पादनमा आत्मनिर्भर भएको दाबी पनि गरे। भौतिक पूर्वाधारतर्फ प्रदेश सरकारले उल्लेख्य काम गरेको बताउँदै उनले पछिल्लो नौ वर्षमा करिब १ हजार किलोमिटर सडक र १५० वटा पुल निर्माण सम्पन्न भएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार गत सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन टुटेर काँग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए।

कोशी प्रदेशसभामा ९२ सदस्य छन् । तीमध्ये एमालेका ४० र कांग्रेसका २९ सदस्य छन्। यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन्।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×