
विराटनगर । इलामका अग्रज, राजनीतिज्ञ एवं लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ माथि सोमबार विराटनगरमा विमर्श गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा आयोजित कार्यक्रममा कृतिबारे विमर्श गरिएको हो ।
त्यस अवसरमा कृतिमा समेटिएको राजनीतिक इतिहास, बीपी कोइरालासँगको लेखक गौतमको सामीप्य र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका अनुभवबारे चर्चा गरिएको थियो । कार्यक्रममा लेखक गौतमले ‘बीपी र विद्रोहका ती दिन’ पूर्ण रूपमा बीपी कोइरालाको जीवनी नभई आफूले भोगेको राजनीतिक समय, बीपीसँगको निकटता र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा देखे–भोगेका घटनाको संस्मरणात्मक दस्तावेज भएको बताए ।
प्रजातान्त्रिक आन्दोलनका कठिन दिन, तत्कालीन राजनीतिक परिवेश र बीपी कोइरालाको व्यक्तित्वलाई आफ्नै अनुभव र दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास आफूले गरेको गौतमको भनाइ छ । बीपी कोइरालाले पञ्चायती व्यवस्थाविरुद्ध आह्वान गरेको सशस्त्र संघर्ष, त्यसक्रममा भएका राजनीतिक गतिविधि तथा प्रवासमा नेपाली प्रजातान्त्रिक आन्दोलनले भोगेका कठिनाइ पुस्तकका महत्वपूर्ण विषय हुन् ।
राष्ट्रियता संकटमा परेको निष्कर्षसहित बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएका थिए । उनी स्वदेश फर्किनुअघि नेपाल पठाइएका तीन विश्वासपात्रमध्ये आफू पनि एक रहेको प्रसंग गौतमले पुस्तकमा समेटेका छन् । आफ्नो राजनीतिक जीवनयात्रा र बीपीसँगको सम्बन्धलाई स्मरण गर्दै गौतमले नयाँ पुस्तालाई प्रजातान्त्रिक आन्दोलनको इतिहास बुझाउन पुस्तक लेखेको बताए ।
उक्त कृति यसअघि काठमाडौंमा विमोचन गरिएको थियो । त्यसपछि गौतमको गृहजिल्ला इलाम, इलामकै फिक्कल, झापाको बिर्तामोड लगायत स्थानमा विमर्श कार्यक्रम हुँदै सोमबार विराटनगरमा यसबारे चर्चा गरिएको हो ।



















