सहयोग गरौँ, प्रचार होइन

Share this
797shares
मुलुकी खबर
विवेक केशरी प्रसाईं
clock२०८३ भाद्र ११, बिहीबार १४:४७
सहयोग गरौँ, प्रचार होइन

मलाई एउटा प्रवृत्ति असाध्यै असहज लाग्छ– कसैको दुःखमा सहयोग गरेको रकमलाई सामाजिक सञ्जालमा उपलब्धिको प्रमाणपत्र जस्तो प्रदर्शन गर्ने प्रवृत्ति ।

बाढी आयो, पहिरो गयो, भूकम्प आयो । मानिसको घर बग्यो, परिवार छुट्टियो, जीवनभरको कमाइ माटोमा मिसियो । अनि हामी सहयोगको रकम गन्न थाल्छौँ –

Advertisement

‘यति उठायौँ, यति दियौँ, यति बाँड्यौँ ।’

प्रश्न उठ्छ– हामीले पीडितलाई सहयोग गरेका हौँ कि आफ्नो सामाजिक छवि निर्माण गरेका हौँ ?
हाम्रा पुर्खाले ‘एक हातले दिएको अर्को हातले थाहा नपाओस्’ भनेको केवल धार्मिक वा नैतिक उपदेश थिएन । त्यसमा सहयोगको एउटा गहिरो दर्शन थियो—सहयोग गर्दा दिने मानिसको अहंकारभन्दा पाउने मानिसको आत्मसम्मान ठुलो हुनुपर्छ ।

आज सामाजिक सञ्जालले हाम्रो सहयोगलाई पनि प्रदर्शनको विषय बनाइदिएको छ । रकमको चेक, पैसाका बन्डल, वितरणका तस्बिर, भिडियो र पोस्ट ।

कहिलेकाहीँ लाग्छ—पीडितको दुःखभन्दा सहयोगदाताको नाम ठुलो हुँदै गएको छ । सार्वजनिक रूपमा रकम उठाइएको छ भने त्यसको हिसाब दिनुपर्छ । यो अनिवार्य हो । दाताको पैसामा पारदर्शिता हुनै पर्छ ।

तर पारदर्शिता भनेको प्रचार होइन । हिसाब देखाउनु र आफ्नो उदारता देखाउनुबिच ठुलो अन्तर छ ।

कति रकम उठ्यो ?
कहाँबाट उठ्यो ?
कहाँ खर्च भयो ?
कसलाई पुग्यो ?
यी प्रश्नको जवाफ दिनुपर्छ ।

तर त्यससँगै अर्को प्रश्न पनि सोधौँ—
पीडितको अनुहार किन देखाउनु पर्‍यो ?
उसको दुःख किन हाम्रो प्रचारको सामग्री बन्नु पर्‍यो ?
हामीले गरेको सहयोग किन हाम्रो सामाजिक प्रतिष्ठाको विज्ञापन बन्नु पर्‍यो ?
सहयोगको एउटा मर्यादा हुन्छ ।

कसैको घर भत्किएको बेला उसलाई राहत दिनु मानवीयता हो । तर उसको पीडामाथि उभिएर आफ्नो महानता प्रदर्शन गर्नु भने मानवीयताको सुन्दर पक्ष होइन ।

सहयोग लिन बाध्य भएको मानिसलाई पहिले नै परिस्थितिले कमजोर बनाएको हुन्छ । कम्तीमा हाम्रो सहयोगले उसको आत्मसम्मान नखोसियोस् ।

हामीले दिने हातलाई पनि कहिलेकाहीँ सम्झाउनुपर्छ—
तिमी दिने हात हौ, मालिक होइनौँ ।
र पाउने मानिसलाई पनि यस्तो अनुभूति नहोस्
‘मलाई सहयोग होइन, उपकार गरिएको रहेछ ।’
त्यसैले सहयोग गरौँ । खुलेर गरौँ । सकेसम्म धेरै गरौँ ।

तर प्रत्येक सहयोगलाई सामाजिक सञ्जालको पोस्ट बनाउनै पर्छ भन्ने मानसिकताबाट बाहिर निस्कौँ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होस् वा अन्य विश्वसनीय माध्यम—सहयोग गर्ने बाटा धेरै छन् । सहयोगको मूल्य त्यसको प्रचारको पहुँचले होइन, त्यसले कसैको जीवनमा ल्याएको राहतले निर्धारण गर्छ ।

हामीले कति दियौँ भन्ने कुरा संसारले थाहा पाउनु आवश्यक छैन ।
कसैको आँसु पुछिएको छ कि छैन– त्यो चाहिँ थाहा पाउनु आवश्यक छ ।

किनकि अन्ततः
दान त्यही सुन्दर हुन्छ, जहाँ दिने हात शान्त हुन्छ र पाउने मानिसको शिर निहुरिनु पर्दैन ।
सहयोगको आवाज ठुलो हुनु पर्दैन, मन ठुलो हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×