
काठमाडौं । राष्ट्रियसभाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आज (मंगलबार) को बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
प्रस्तावमार्फत भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । त्यस्तै, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन र सम्पर्कविहीनको खोजी तीव्र पार्न सरकारको ध्यानाकर्षण गराइएको छ । घाइतेको निःशुल्क उपचार तथा शवको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने विषय पनि प्रस्तावमा उल्लेख छ ।
भौतिक संरचनाको पुनःनिर्माणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायबीच सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
राष्ट्रिय एकता कायम गर्दै विपद् व्यवस्थापन गर्न तथा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जानुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ ।

























