मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको तयारी

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १९:१८

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । आज (बुधबार) चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन् ।

बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ । साउदका अनुसार उक्त कार्यतालिकामाथि केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको र आवश्यक परिमार्जनपछि कार्यतालिका पारित गरिने छ ।

Advertisement

उनका अनुसार १५ औँ महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्ताव गरिएको छ । नयाँ क्रियाशील सदस्यता वितरण हुन नसकेका स्थानमा वडाको सिफारिसका आधारमा नयाँ सदस्यता वितरण गरी क्षेत्रीय समितिमार्फत टुंग्याउने तयारी छ ।

साउदले कांग्रेसको संगठन अहिले विभाजित अवस्थामा रहेको स्वीकार गर्दै विभाजनका कारण कतिपय स्थानमा संगठनात्मक संरचना अपूर्ण रहेकाले केन्द्रीय प्रतिनिधि चयन गरी संयोजक तोकेर सम्बन्धित निकायलाई पूर्णता दिने तयारी रहेको बताए । कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको साउदले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×