
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकाय र सम्बन्धित निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन गरेका छन् ।
प्रधानसेनापति सिग्देलले बिहीबार त्रिशूली नदी आसपास तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ उद्धार कार्यलाई निरन्तरता दिन सेनाका सकल दर्जालाई निर्देशन दिए ।
विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारका क्रममा बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न स्थानबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरेको छ । विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजीलाई समेत तीव्रता दिइएको सेनाले जनाएको छ ।
लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजीमा जुटेको छ । चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ ।
त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्स्क्याभेटर प्रयोग गरी रातभर सुरुङको आउटलेटमा भरिएको लेदो र माटो हटाएको छ। आउटलेटको प्वाल ठूलो बनाउन राति करिब २ बजे ‘क्राउन ब्लास्टिङ’ गरी सफा गर्ने काम भइरहेको सेनाले जनाएको छ ।
यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले आयोजनाको कार्यालय र निवास रहेको क्षेत्र पहिचान गरेको छ । उक्त क्षेत्रमा पुग्न एक्स्क्याभेटर र ‘बबक्याट’ प्रयोग गरी बाटो बनाउने तथा माटो पन्छाउने काम भइरहेको छ।
जमिनतर्फ पनि प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ । स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै चिकित्सक अधिकृतसहितको टोलीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको सेनाले जनाएको छ ।
त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा खोज तथा उद्धार जारी छ। नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुबेँसी क्षेत्रमा पनि खोजी गरिरहेको छ ।
चिकित्सक अधिकृतहरूले नुवाकोटको पिपलटार र देवघाटमा रहेका होल्डिङ सेन्टरमा सम्भावित संक्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सेनाले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेको जनाएको छ ।

























