
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको काम पनि अघि बढाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रबार) रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्ने बताए ।
प्रभावित क्षेत्रमा प्रदेश सरकार, प्रदेशसभा र विभिन्न दाताबाट सहयोग भइरहेको उल्लेख गर्दै ओलीले बाढीपहिरोले क्षति पुर्याएका ठाउँमा तुइन, झोलुङ्गे पुल र सडक निर्माणको काम अघि बढाउनुपर्ने बताए । ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ । राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ,’ ओलीले भने ।
उनले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै अन्य प्रदेश सरकार र दातालाई पनि सहयोग जारी राख्न आग्रह गरे ।
‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाई सहयोग पुग्छ । कतिपय ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने, बाटो निर्माण गर्ने काम भइरहेको छ,’ ओलीले भने, ‘प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु । विभिन्न प्रदेशसभाले पनि सहयोग पुर्याइरहेका छन् । अरू विभिन्न दाताबाट पनि सहयोग जुटिरहेको छ । सहयोगी मन भएका दाताहरूलाई धन्यवाद भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको पनि प्रशंसा गरे । तर नेपाली सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो । नेपाली सेना राजनीतिक विवादबाट अलग, निर्विवाद र निष्कलंक रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए ।

























