
इलाम । कवि तथा साहित्यकार प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ इलाममा लोकार्पण गरिएको छ । पौडेलको यो सातौँ कृति हो । इलाम नगरपालिका अन्तर्गतको साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा नगरप्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा महाकाव्य लोकार्पण गरिएको हो ।
महाकाव्यमा २ हजार २ सय ५१ श्लोक, १७ सर्ग र १६ छन्द प्रयोग गरिएको छ । महाभारतकालीन कथालाई नयाँ ढंगले प्रस्तुत गरिएको कृतिको प्रमुख पात्र कर्ण हुन् । कर्णको संघर्ष र जीवनसँग जोडिएका महिला पात्र तथा उनीहरूले भोगेका पीडालाई कृतिमा समेटिएको पौडेलले बताइन् ।
‘तितिक्षा’को अर्थ सहिष्णुता रहेको बताउँदै पौडेलले महाभारतकालीन महिला र वर्तमान समयका महिलाले भोग्दै आएका पीडा, दुःख र संघर्षलाई तुलनात्मक रूपमा प्रस्तुत गर्न खोजिएको जानकारी दिइन् । समाजमा विद्यमान बेथिति र महिलाका संघर्षलाई आधार बनाएर महाकाव्य लेखिएको उनको भनाइ छ ।
इलाममै बसेर साहित्य सिर्जना गर्दै आएकी पौडेलको यो पहिलो महाकाव्य हो । उनले २०५९ सालदेखि कृति लेखन सुरु गरेकी हुन् । यसअघि उनका ‘गंगा’ खण्डकाव्य, ‘झुल्केघाम र तृष्णा’, ‘अक्षरमा मेची–मूर्च्छना’, ‘पूर्वाञ्चलीय नारी स्रष्टा कोष’, ‘पूर्वका साहित्य सारथि’, ‘सन्धान’लगायत कृति प्रकाशित छन् ।
महाकाव्य ‘तितिक्षा’माथि साहित्यकर्मी इन्द्रनारायण सुबेदी, अन्वेष थुलुङ, सोम निरौला र टीका घिमिरेलगायतले समीक्षा गरेका थिए । कार्यक्रममा कवि विमल वैद्यलगायतले शुभकामना मन्तव्य दिएका थिए । साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले ‘तितिक्षा’ सम्भवतः नारीद्वारा लिखित पूर्वकै पहिलो महाकाव्य भएको उल्लेख गरे ।
नगरप्रमुख थापाले साहित्य क्षेत्रमा महिलाको उपस्थिति तुलनात्मक रूपमा कम रहे पनि पौडेलले निरन्तर सिर्जनाबाट आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताए । स्थानीय भूगोलमा बसेर निरन्तर साहित्य सिर्जना गर्नु इलामको साहित्यिक पहिचानका लागि सकारात्मक पक्ष भएको कार्यक्रममा सहभागी साहित्यकारहरूले बताए । साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, स्रष्टा, कलाकर्मी तथा साहित्यप्रेमीको उपस्थिति थियो ।

























