भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १६:१३
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ

विराटनगर । विराटनगरको महेन्द्रचोकमा दुई स्कुले छात्रामाथि मोटरसाइकलमा सवार युवाले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोले प्रहरी अनुसन्धानसँगै नयाँ प्रश्न खडा गरेको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ती युवालाई कारबाही गर्न व्यापक दबाब बढेपछि प्रहरीले मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाएको थियो । तर, भिडियोमा देखिएका किशोरीहरूले भने आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको स्पष्ट पारेका छन् ।

Advertisement

बुधबार दिउँसो करिब १२ः३० बजेतिर विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकमा विद्यालय पोसाकमा रहेका दुई किशोरी जेब्राक्रस नजिकैबाट बाटो काट्न खोजिरहेका बेला मोटरसाइकलमा सवार व्यक्तिले उनीहरूतर्फ हातको इसारा गर्दै केही भनेजस्तो देखिने भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनालाई लिएर दुईथरी धारणा देखिए । एक पक्षले मोटरसाइकलमा रहेका व्यक्तिहरूले छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्‍यो । अर्को पक्षले भने उनीहरूले किशोरीहरूलाई जेब्राक्रसबाट बाटो काट्न आग्रह वा सुझाव मात्र दिएको हुन सक्ने भन्दै भिडियोका आधारमा निष्कर्ष निकाल्न नहुने धारणा राख्यो ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालबाट प्रहरीमाथि पनि तत्काल कारबाहीका लागि दबाब बढ्यो । त्यसपछि प्रहरीले खोजी अघि बढाउँदै शुक्रबार विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा घर भई विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ ।

पक्राउपछि प्रहरीले उनीहरूको पहिचान खुल्ने विवरणसहितको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक स्थानमा किशोरीहरूसँग अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

तर, प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका किशोरीहरूले नै त्यसको खण्डन गरेपछि घटनाले नयाँ मोड लिएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किशोरीहरूले आफूहरूमाथि सम्बन्धित व्यक्तिहरूबाट कुनै अभद्र व्यवहार नभएको बताएका छन् ।

उनीहरूले घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको उचित परीक्षण नगरी घटनालाई गलत रूपमा प्रस्तुत गरिएको भन्दै प्रश्न उठाएका छन् । उनीहरूको भनाइअनुसार मोटरसाइकलमा रहेका व्यक्तिहरूले आफूहरूलाई बाटो हिँड्न आग्रह गरेका थिए । त्यसपछि आफूहरू आफ्नो बाटो लागेको उनीहरुले बताए ।

किशोरीहरूले नै दुर्व्यवहार नभएको बताएपछि प्रहरीको अनुसन्धान र पक्राउ प्रक्रियामाथि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ । भिडियो भाइरल भएकै आधारमा प्रहरीले हतारमा पक्राउ गरेको भन्दै कतिपयले आलोचना गरेका छन् । घटनाको वास्तविकता पुष्टि गर्नुअघि सामाजिक सञ्जालमा आएको प्रतिक्रियालाई आधार बनाएर कारबाही अघि बढाइएको हो कि भन्ने प्रश्नसमेत उठेको छ ।

उक्त भिडियो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयमा कार्यरत एक कर्मचारीले खिचेको बताइएको छ । उनले भिडियो सामाजिक सञ्जालमा सेयर गरेपछि भिडियो व्यापक रूपमा फैलिएको थियो । भिडियोमा मोटरसाइकलमा रहेका व्यक्तिले किशोरीहरूतर्फ हातको इसारा गरेको देखिए पनि उनीहरूले के भनेका थिए भन्ने कुरा भिडियोबाट स्पष्ट हुँदैन ।

प्रहरीले भने सामाजिक सञ्जालमा किशोरीहरूले सार्वजनिक गरेको भनाइलाई मात्रै आधार बनाएर अनुसन्धान रोक्न नसकिने जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले घटनालाई आपराधिक दृष्टिकोणबाट समेत अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको बताए ।

उनका अनुसार सडकमा हिँडिरहेका असम्बन्धित व्यक्तिले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्दै किशोरीहरूलाई रोक्ने वा सिकाउने आवश्यकता नरहेको प्रहरीको बुझाइ छ । घटनास्थलनजिकै ट्राफिक प्रहरीसमेत रहेको अवस्थामा किशोरीहरूलाई नै केन्द्रित गरेर गरिएको व्यवहारको नियतमाथि प्रश्न उठ्न सक्ने उनले बताए ।

डीएसपी मिश्रले पछिल्लो समय सडकमा दुर्व्यवहार गर्ने तथा चेन स्न्याचिङ अर्थात् गहना लुटपाट गर्ने समूह सक्रिय रहेकाले यस्ता गतिविधिलाई प्रहरीले सूक्ष्म रूपमा हेर्ने गरेको बताए । ‘बाटोमा हिँडिरहेको असम्बन्धित मानिसले ट्राफिक प्रहरीको भूमिकामा युवतीहरूलाई रोकेर सिकाउनुपर्ने आवश्यकता देखिँदैन,’ उनले भने, ‘त्यहाँ नजिकै ट्राफिक प्रहरी हुँदाहुँदै युवतीहरूलाई नै केन्द्रित गर्नुले नियतमा शंका उब्जाउँछ ।’

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र त्यसपछि आएको प्रतिक्रियालाई मात्र अन्तिम प्रमाणका रूपमा नलिएको जनाएको छ । डीएसपी मिश्रले अनुसन्धान जारी रहेको र अनुसन्धानका क्रममा दोषी नदेखिए कानुनअनुसार पक्राउ परेकाहरूलाई छाडिने बताए ।

‘समाजमा कतिपय अपराधहरू सिकाउने वा सहयोग गर्ने बहानामा पनि हुने गरेका छन्,’ उनले भने, ‘हामीले आपराधिक नजरबाट अनुसन्धान गर्नैपर्ने हुन्छ ।’ यता, किशोरीहरूले नै आफूहरूमाथि दुर्व्यवहार नभएको बताएपछि घटनामा प्रहरीको निष्कर्ष र आरोपबीचको अन्तरका बारेमा बहस सुरु भएको छ । सामाजिक सञ्जालमा फैलिएको केही सेकेन्डको भिडियोबाट व्यक्तिको नियत र घटनाको सम्पूर्ण वास्तविकता निष्कर्ष निकाल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नसमेत उठेको छ ।

अब प्रहरीले भिडियोमा देखिएको गतिविधि, घटनास्थलको अवस्था, प्रत्यक्षदर्शी, दुवै पक्षको बयानलगायत उपलब्ध प्रमाणको आधारमा अनुसन्धान टुंग्याउनुपर्ने देखिन्छ । किशोरीहरूको भनाइ र प्रहरीले अघि सारेको शंकाबीच वास्तविक घटना के थियो भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×