
विराटनगर । विराटनगरमा ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार दिउँसो ३ः३० बजेतिर विधिवत् पूजाआजा गरी रथयात्राको शुभारम्भ गरेपछि राधाकृष्णको युगल जोडी सवार रथ तान्न सुरु गरिएको थियो । रथयात्रामा विराटनगर तथा मोरङका विभिन्न स्थानसहित नेपालका अन्य जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजन सहभागी भएका थिए । मुख्य सडक तथा चोकहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको थियो ।

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढेको थियो । त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै रथ पुनः राधाकृष्ण मन्दिरमा पुगेको हो । आयोजकका अनुसार रथले करिब ८ किलोमिटर दूरी तय गरेको छ ।
रथमा सवार राधाकृष्णको दर्शन तथा पूजाआजा गर्न भक्तजनलाई सहज होस् भनेर यात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको थियो । ती स्थानमा भक्तजनले रथको दर्शन तथा पूजाआजा गरेका थिए । रथयात्राका क्रममा विभिन्न स्थानमा पानी, चिसो पेय पदार्थ, मोही तथा खानेकुरा निःशुल्क वितरण गरिएको थियो ।
यस वर्षको रथयात्राको एउटा प्रमुख विशेषता डीजे साउन्डको प्रयोग नगर्नु रह्यो । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गइरहेका बेला आयोजकले धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरण कायम राख्ने उद्देश्यले डीजे प्रयोगमा रोक लगाएको थियो । यसको सट्टा विभिन्न भजन मण्डलीका भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको थियो ।

राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले धार्मिक पर्वको मौलिक स्वरूप जोगाउने उद्देश्यले डीजेको सट्टा भजन–कीर्तन र धार्मिक प्रस्तुतिलाई प्राथमिकता दिइएको बताए । आधुनिक मनोरञ्जनका माध्यमका कारण धार्मिक पर्वको परम्परागत स्वरूप ओझेलमा पर्न थालेको गुनासो बढिरहेका बेला रथयात्रालाई मौलिक धार्मिक वातावरणमा अघि बढाउने प्रयास गरिएको उनको भनाइ छ ।
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि ‘खट यात्रा’बाट यसको धार्मिक परम्परा सुरु भएको थियो । विसं २०२५ देखि भने यसलाई भव्य रथयात्राका रूपमा सञ्चालन गर्न थालिएको हो । खट यात्रासमेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा पूरा भएको छ भने रथयात्राको ५९औँ संस्करण सम्पन्न भएको आयोजकले जनाएको छ ।
वर्षौंदेखि निरन्तर सञ्चालन हुँदै आएको रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख पर्वका रूपमा स्थापित छ । विराटनगरबाहेक नेपालका विभिन्न स्थान तथा भारतको बिहार र पश्चिम बंगालबाट समेत भक्तजन रथयात्रामा सहभागी हुन र राधाकृष्णको दर्शन गर्न आउने गरेका छन् ।

रेग्मीका अनुसार विराटनगरको रथयात्रा देशकै पुरानो र ठूला रथयात्रामध्ये एक हो । पछिल्ला वर्षमा मोरङ, सुनसरी र झापालगायतका क्षेत्रमा पनि रथयात्रा आयोजना हुन थालेकाले विराटनगरमा भक्तजनको उपस्थिति केही प्रभावित भए पनि यसको धार्मिक तथा सांस्कृतिक महत्व कायमै रहेको उनले बताए ।
ठूलो संख्यामा भक्तजन सहभागी हुने भएकाले रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाल प्रहरीले भिड व्यवस्थापन तथा सम्भावित आपराधिक गतिविधिको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार हतियारसहितका प्रहरी, पोसाकमा रहेका सुरक्षाकर्मी तथा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । चोरी, पाकेटमारी तथा अन्य आपराधिक र उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको थियो । रथयात्राका क्रममा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
रथयात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आयोजकले १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो । समितिअन्तर्गत २१ वटा उपसमिति परिचालन गरिएको थियो ।

यस वर्षको रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित रहेन । आयोजकले रथयात्राका क्रममा संकलन भएको भेटीबापतको रकम बाढीपीडितको राहतमा प्रयोग गर्ने निर्णय गरेको छ । नगर परिक्रमा गराइएका दानपेटिकाबाट संकलित रकम पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
यसरी भक्तजनको उल्लेख्य सहभागिता, धार्मिक झाँकी, भजन–कीर्तन र परम्परागत प्रस्तुतिसहित सम्पन्न भएको ५९औँ राधाकृष्ण रथयात्राले विराटनगरको पुस्तौँ पुरानो धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ । साथै, यसपटकको रथयात्राले धार्मिक आस्था र संस्कृति संरक्षणसँगै मानवीय सेवाको सन्देशसमेत दिएको छ ।

































