
विराटनगर । विराटनगरमा शनिबार निकालिएको ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा १ सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ सय १२ जना पुरुष र १ जना महिला छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रथयात्रामा सहभागी हजारौँको भिडमा चोरी, पाकेटमारी, उच्छृङ्खल तथा अन्य अवाञ्छित गतिविधि गर्ने शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेकालाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति चोरी तथा पाकेटमारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रथयात्राको भिडमा सहभागी दर्शनार्थीका गरगहना, नगद तथा अन्य सामान चोरी र पाकेटमारी भएको जानकारी प्रहरीमा आएको छ ।
रथयात्राका क्रममा पक्राउ पर्ने व्यक्तिको संख्या केही थपघट हुन सक्ने प्रहरीले जनाएको छ । भिडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रथयात्राको सुरक्षा व्यवस्थालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको थियो । भिडको अवस्था, सम्भावित जोखिम तथा शंकास्पद गतिविधिको निगरानीका लागि प्रहरीले ड्रोनसमेत प्रयोग गरेको थियो ।
पक्राउ परेकामध्ये चोरी तथा पाकेटमारीलगायत अपराधमा संलग्न देखिएकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । अन्य शंकास्पद गतिविधिमा मात्रै संलग्न देखिएकालाई भने आवश्यक अनुसन्धानपछि आफन्त वा परिवारका सदस्यको जिम्मा लगाएर छाडिने प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार चोरी तथा पाकेटमारीमा संलग्न देखिएकामाथि मुद्दा चलाइनेछ । शंकास्पद गतिविधि मात्रै गरेको पाइएकालाई आफन्तको जिम्मा लगाएर छाडिनेछ ।
यसैबीच, रथयात्राको भिडमा अलमलिएका ५ देखि ७ वर्ष उमेर समूहका दुई जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । भिडमा हराएका एक बालक र एक बालिकालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको हो । बालबालिका हराएका अभिभावकलाई प्रहरीमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ ।
रथयात्रालाई लक्षित गरी प्रहरीले यसपटक सुरक्षा व्यवस्था कडा बनाएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै भिडको निरन्तर निगरानी गरिएको थियो । प्रहरीको सक्रियता र कडा सुरक्षा व्यवस्थाका कारण विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य र सुरक्षित रूपमा सम्पन्न भएको एसपी कटवालले बताए ।

























