
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारभित्र लामो समयदेखि प्रभाव जमाउँदै आएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको सञ्जाल अन्ततः भत्किएको छ ।
गिरीसँग निकट रहेका १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेर विभिन्न सातवटा कारागारमा स्थानान्तरण गरिएपछि मोरङ कारागारभित्रको गुटबन्दी र तनाव मत्थर भएको हो । गिरीको सहयोगी बनेर आतंक मच्चाइरहेका १९ जना बाहिरिएपछि कारागारभित्र रहेका कैदीबन्दीले खुसीयाली मनाएका छन् ।
कारागारको ‘बी ब्लक’ कब्जा गरेर बसेको समूह र त्यसको विरोध गर्ने कैदीबन्दीबीच शुक्रबार कुटाकुट भएपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यस क्रममा अन्य कैदीबन्दीले चौकीदार विशाल निरौलासहित १९ जना कैदीबन्दीलाई बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाए । त्यसपछि उनीहरूलाई पुनः मोरङ कारागारमै राख्दा सुरक्षा चुनौती बढ्न सक्ने देखिएपछि विभिन्न सातवटा कारागारमा स्थानान्तरण गरिएको छ ।
कारागार प्रशासक राजन घिमिरेका अनुसार विशाल निरौला, रामकुमार श्रेष्ठ र प्रशान्त भण्डारीलाई झापा कारागार पठाइएको छ । प्रेम कटवाल, नजाम भनिने नजामुद्दीन मियाँ र रामकुमार चौधरीलाई सुनसरीको झुम्का कारागार, मोहमद सदाम र अरवाज शेखलाई उदयपुरको गाईघाट कारागार तथा तपस बर्मन, मन्त्री भनिने अजय पासवान र धर्मेन्द्र राईलाई सिन्धुली कारागार पठाइएको घिमिरेले बताए ।
त्यस्तै, मनिषकुमार विक र करिया भनिने रविन कामतलाई सप्तरी, कुनाल सिंह, अनिल भट्टराई र राजा भनिने राजेश कामतलाई सिराहा तथा चञ्चल बर्मन, कार्तिक कामत र अजय मेहतालाई पर्साको वीरगन्ज कारागार स्थानान्तरण गरिएको जानकारी घिमिरेले दिए । उनका अनुसार सबै जनालाई शनिबार सम्बन्धित कारागारमा पठाइसकिएको छ ।
कारागार प्रशासनका अनुसार एउटै कारागारमा राख्दा पुनः समूह बनाएर गुटबन्दी गर्ने र विवाद दोहोरिन सक्ने भएकाले उनीहरूलाई अलग–अलग कारागारमा पठाइएको हो । उनीहरूलाई बाहिर पठाएपछि मोरङ कारागारको अवस्था सामान्य बनेको प्रशासनको भनाइ छ ।
कारागार स्रोतका अनुसार गिरी पक्षका कैदीबन्दीबाट आफूहरूमाथि यातना, रकम असुली र डर–त्रास सिर्जना गरिएको भन्दै अन्य कैदीबन्दी लामो समयदेखि असन्तुष्ट थिए ।
गिरी पक्षका कैदीबन्दीले कारागारभित्र आतंक मच्चाउने, अन्य कैदीबन्दीमाथि यातना दिने तथा रकम असुल्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । कारागार स्रोतका अनुसार यही असन्तुष्टि बढ्दै गएपछि अन्य कैदीबन्दीले शुक्रबार मौका पाएर ‘बी ब्लक’ कब्जा गर्ने समूहका सदस्यलाई एक–एक गर्दै कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएका हुन् ।
स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गर्ने समूह अभिषेक गिरीका समर्थक थिए । गिरीको इसारामा चौकीदारसहित केही कैदीबन्दीले ‘ब्लक’ कब्जा गरेको दाबी स्रोतको छ । कैदीबन्दीले पाउने सरकारी भत्ता तथा श्रम गरेर कमाएको रकम कब्जा गरेको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । यही आरोपमा पक्राउ परेका गिरी उच्च अदालत विराटनगरको आदेशपछि छुटिसकेका छन् । तर, उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
कारागार स्रोतका अनुसार गिरी पक्षका कैदीबन्दीबाट आफूहरूमाथि यातना, रकम असुली र डर–त्रास सिर्जना गरिएको भन्दै अन्य कैदीबन्दी लामो समयदेखि असन्तुष्ट थिए । उनीहरूले कारागारभित्रको वास्तविक अवस्था बाहिर आउन नदिइएको पनि बताएका छन् ।
सुरक्षा स्रोतका अनुसार स्थानीय प्रशासनले सुरुमा १५ जनालाई स्थानान्तरण गर्ने तयारी गरेको थियो । तर, भित्रकै कैदीबन्दीले थप चार जना पनि गिरी पक्षसँग निकट रहेको पहिचान गरी सुरक्षाकर्मीलाई जिम्मा लगाएपछि संख्या १९ पुगेको हो । कारागारभित्र उनीहरुले छुट्टै समूह बनाएर समानान्तर रूपमा प्रभाव जमाएको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीले प्रशासनसमक्ष राखेको गुनासोअनुसार बोरामा हालेर कुटपिट गर्ने, रातभर यातना दिने र पीडितले चिच्याएमा थप कुटपिट गर्ने गरिएको थियो ।
उनीहरूको प्रभाव यति बलियो रहेको थियो कि अन्य कैदीबन्दीले बोल्न, शौचालय जान, पानी तथा खाना खान र सुत्नसमेत त्यही समूहसँग अनुमति लिनुपर्ने अवस्था रहेको स्रोतले जनाएको छ । कारागार प्रशासनका कर्मचारी तथा कैदीबन्दीका आफन्त भेट्न आउँदा समेत त्यही समूहबाट अनुमति लिनुपर्ने अवस्था बनाइएको थियो ।
कारागारभित्र बाहिरका व्यक्तिसँग बोल्न प्रतिबन्ध लगाउने र अनुमति नलिई कसैसँग बोलेमा कुटपिट तथा यातना दिने गरिएको गुनासो पनि प्रशासनसमक्ष पुगेको छ । परिवारबाट पैसा माग्न लगाउने, रकम असुल्ने र परिवारले पठाएको पैसा समेत कब्जा गरेर अभिषेक गिरीसम्म पुर्याउने गरेको आरोपसमेत कैदीबन्दीले लगाएका छन् ।
कैदीबन्दीले प्रशासनसमक्ष राखेको गुनासोअनुसार बोरामा हालेर कुटपिट गर्ने, रातभर यातना दिने र पीडितले चिच्याएमा थप कुटपिट गर्ने गरिएको थियो । आवाज बाहिर नजाओस् भनेर ठूलो आवाजमा डिजे तथा म्युजिक बजाएर कुटपिट गर्ने गरिएको समेत पाइएको छ । लगातार शारीरिक, मानसिक र आर्थिक यातना भोगेका कतिपय कैदीबन्दीको स्वास्थ्य अवस्था कमजोर बनेको कारागार स्रोतले जनाएको छ ।
गिरी पक्षको प्रभावका कारण श्रम गरेर कमाएको रकमसमेत आफूहरुले घरपरिवारलाई पठाउन नपाएको गुनासो कैदीबन्दीले गरेका छन् । कारागारमा मुढा, गलैँचा तथा फर्निचरका सामान बनाएर कमाउने कैदीबन्दीको आम्दानीसमेत त्यही समूहले नियन्त्रणमा लिने गरेको पाइएको छ ।
कारागारभित्रको अवस्था अहिले भने सामान्य बनेको र १९ जना बाहिरिएपछि कैदीबन्दी गलैँचा बुन्ने, मुढा बनाउने तथा फर्निचरका सामग्री तयार गर्ने पुरानै काममा फर्किएको कारागार प्रशासक घिमिरले बताए । उनका अनुसार कैदीबन्दीले प्रशासनलाई कारागारभित्र प्रवेश गर्न सहज बनाउने, भित्रबाट ढोकामा चाबी नलगाउने र अनुमतिबिना छतमा नजाने प्रतिबद्धता जनाएका छन् ।
मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको सरकारी भत्ता र उनीहरूले श्रमबाट कमाएको रकम असुलेको आरोपमा गत असार १३ गते बिहान गिरी पक्राउ परेका थिए ।
१९ जना बाहिरिनुअघि ‘बी ब्लक’मा ५ सय ७१ जना कैदीबन्दी थिए । शुक्रबार एक जना नियमित रूपमा कैद भुक्तान गरेर छुटे । २० जना बाहिरिएपछि अहिले उक्त ‘ब्लक’मा ५ सय ५१ जना कैदीबन्दी छन् । उनीहरूले नयाँ चौकीदारका रूपमा सञ्जिव चौधरीको नामसमेत कारागार प्रशासनमा पठाएका छन् । चौधरीलाई चौकीदार बनाउनुपर्ने माग गर्दै उनीहरूले उनको निर्देशन र निर्णय मान्य हुने बताएका छन् । चौकीदार नियुक्तिको आफ्नै प्रक्रिया हुने भएकाले अन्तिम निर्णय भने कारागार व्यवस्थापन विभागले गर्नेछ ।
आतंक मच्चाउनेहरुलाई बाहिर निकालिएपछि कारागारभित्र कैदीबन्दीले खुसीयाली मनाएका छन् । कारागार स्रोतका अनुसार कैदीबन्दीले शुक्रबार राति कृष्ण जन्माष्टमीको अवसरमा भजन–कीर्तन गर्दै खुसीयाली मनाएका थिए । अहिले कारागार पूर्ण रूपमा शान्त छ ।
कारागारसँग जोडिएको घटनाको केन्द्रमा रहेका अभिषेक गिरी विराटनगर महानगरपालिका–८ का बासिन्दा हुन् । आपराधिक पृष्ठभूमिका गिरीले लामो समयदेखि मोरङ कारागारमा प्रभाव जमाउँदै आएको पाइएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । नेपाली कांग्रेससँग गिरीको निकटता रहेको छ । कांग्रेस तथा नेकपा (एमाले) नेतृत्वको सरकारका पालामा उनले कारागारभित्र प्रभाव विस्तार गरेका थिए ।
२०८२ साल फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार रहेका पार्टी महामन्त्री गुरुराज घिमिरेको चुनाव प्रचारमा समेत गिरी सक्रिय रहेका थिए । गिरीमाथि मोरङ प्रहरीसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको थियो ।
गिरी जेलमै रहँदा उनलाई मोरङ कारागारमै राख्ने वा अन्यत्र सार्ने विषयमा पटकपटक विवाद उत्पन्न भएको थियो । अन्य कारागारमा सरुवा गरिए पनि पुनः मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिने गरिएको थियो ।
मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको सरकारी भत्ता र उनीहरूले श्रमबाट कमाएको रकम असुलेको आरोपमा गत असार १३ गते बिहान गिरी पक्राउ परेका थिए । उनीविरुद्ध मोरङ प्रहरीले आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान पूरा नहुँदै उच्च अदालत विराटनगरको आदेशपछि उनी छुटेका थिए ।
प्रहरीले गिरीलाई संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि मोरङ जिल्ला अदालतसँग म्याद मागेको थियो । तर, जिल्ला अदालतले म्याद दिन अस्वीकार गर्दै उच्च अदालतको आदेशअनुसार छाड्न भन्यो । त्यसपछि ठगी तथा आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा सीआईबीले उनलाई पुनः पक्राउ गरेको थियो । पछि ठगीबाट पीडित भनिएका व्यवसायी सुभाष श्रेष्ठसँग मिलापत्र गरेर उनी छुटेका थिए ।
मोरङमा पनि ठगी तथा आपराधिक विश्वासघातमा उनीमाथि अनुसन्धान भएको थियो । ठगीबाट पीडित भएको भनिएका व्यवसायीसँग मिलापत्र गरेर उनी छुटेका छन् । कैदीबन्दीले पाउने सरकारी भत्ता असुलेको प्रकरणमा भने गिरीमाथिको अनुसन्धान जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
उनका अनुसार ४८ वर्षीय गिरीको सम्पत्ति आर्जनको स्रोत, आर्थिक कारोबार र सम्पत्तिको वैधतामाथि समेत प्रश्न उठिरहेको छ । उनी लामो समयदेखि ठेक्कापट्टा तथा असुलीमा संलग्न विवादास्पद पात्रका रूपमा चिनिँदै आएका छन् ।
यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएर ९ वर्षभन्दा बढी कैद सजाय भुक्तान गरेका गिरी २०७९ चैत ५ गते जेलबाट छुटेका थिए । जेलबाट बाहिर आएपछि आफूलाई समाजसेवी र राजनीतिकर्मीका रूपमा प्रस्तुत गर्दै उनले गिरी फाउण्डेशन स्थापना गरेका थिए ।
फाउण्डेशनमार्फत राहत वितरण, सामाजिक कार्यक्रम तथा आर्थिक सहयोगका गतिविधि सञ्चालन गरिए पनि त्यससँग जोडिएका आर्थिक गतिविधि, संकलित रकमको स्रोत र खर्चको वास्तविक अवस्थामाथि प्रश्न उठेको प्रहरीले जनाएको छ । प्रहरीले गिरीको विगतको आपराधिक गतिविधिदेखि पछिल्ला आर्थिक कारोबार, सम्पत्ति विस्तार, सामाजिक संस्थामार्फत भएको आर्थिक संकलन र सम्भावित सम्पत्ति शुद्धीकरणसम्मका विषयलाई अनुसन्धानको दायरामा राखेको थियो ।
प्रहरीका अनुसार गिरीले मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ असुलेको आरोप पुष्टि हुने आधार फेला परेको छ । वर्षौंदेखि आर्जन गरेको भनिएको सम्पत्तिको स्रोत, त्यसको विस्तार र अवैध आम्दानीलाई वैध सम्पत्तिमा रूपान्तरण गरिएको सम्भावित प्रक्रियाका बारेमा समेत विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
गिरीमाथि ‘मिटरब्याज’को कारोबार तथा उद्योगी, व्यवसायी र सर्वसाधारणलाई डर–त्रास देखाएर रकम असुल्ने गरेको आरोपसमेत लागेको छ । एसपी कटवालका अनुसार उनीसँग जोडिएका यस्ता गतिविधिका बारेमा विभिन्न व्यक्तिले गुनासो गरेका छन् ।
गिरीले आफूविरुद्ध लागेका आरोप अस्वीकार गर्दै आएका छन् । पक्राउ परेका बेला पनि आफूलाई सरकारले योजनाबद्ध रूपमा फसाउन खोजेको उनको अभिव्यक्ति थियो ।
गिरी जेलमै रहँदा उनलाई मोरङ कारागारमै राख्ने वा अन्यत्र सार्ने विषयमा पटकपटक विवाद उत्पन्न भएको थियो । अन्य कारागारमा सरुवा गरिए पनि पुनः मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिने गरिएको थियो । राजनीतिक पहुँचका कारण कारागार व्यवस्थामै प्रभाव कायम राख्न उनी सफल हुने गरेका थिए ।
गिरी जेलबाट छुटेपछि पनि उनको कारागारभित्रको प्रभाव समाप्त भएको थिएन । प्रजिअ कटेलका अनुसार उनका निकटस्थ व्यक्ति, सहयोगी, खाद्यान्नलगायत सामग्रीका आपूर्तिकर्ता तथा कारागारभित्र रहेका केही व्यक्तिमार्फत उनले प्रभाव कायम राखेको पाइएको छ । कारागारमा आवश्यक खाद्यान्न, तरकारी र अन्य सामग्रीको आपूर्तिसम्ममा उनको अप्रत्यक्ष नियन्त्रण रहेको पाइएको कटेलले बताए । सरकारले कैदीबन्दीलाई उपलब्ध गराउने सुविधासमेत उनीनिकट समूहले नियन्त्रणमा लिएर गिरीसम्म पुर्याउने गरेको फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार कैदीबन्दीले उत्पादन गरेका मुढा, गलैँचा तथा अन्य सामग्री बिक्रीबाट प्राप्त रकमसमेत कब्जा गर्ने र सरकारले उपलब्ध गराउने सुविधामा समेत गिरीले आफूनिकटका कैदीबन्दी परिचालन गरेर हस्तक्षेप गर्ने गरेको पाइएको एसपी कटवालले बताए । गिरीमाथि यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको थियो । तर, त्यसमा सफाइ पाएका थिए ।
गिरीले आफूविरुद्ध लागेका आरोप अस्वीकार गर्दै आएका छन् । पक्राउ परेका बेला पनि आफूलाई सरकारले योजनाबद्ध रूपमा फसाउन खोजेको उनको अभिव्यक्ति थियो । पछिल्लो विषयमा भने उनीसँग सम्पर्क हुन सकेन । उनको मोबाइल ‘अफ’ छ ।
मोरङ कारागारमा गिरीको प्रभाव कसरी कायम रह्यो भन्ने विषयमा अहिले १९ जना कैदीबन्दीको स्थानान्तरणले थप प्रश्न उठाएको छ । कारागार प्रशासनले भने गिरी पक्षधर भनिएका कैदीबन्दीलाई अलग–अलग कारागारमा पठाएपछि उनको सञ्जाल पूर्ण रूपले भत्किाएकाले अब गुटबन्दीको सम्भावना नरहेको र कारागारको अवस्था सामान्य बनेको जनाएको छ । त्यति मात्रै नभएर स्थानीय प्रशासनले सबै हिसाबबाट गिरीको कारागारभित्रको सबै सञ्जाल तोडिएको उल्लेख गरेको छ ।
लामो समयदेखि कारागारभित्र रहेको भनिएको गिरीको प्रभाव र उनका समर्थकको समूहगत गतिविधि अन्ततः शुक्रबारको घटनापछि छिन्नभिन्न भएको हो । प्रशासनले स्थानान्तरणको तयारी गरिसकेको अवस्थामा ‘बी ब्लक’ कब्जा गरेर प्रशासनलाई भित्र प्रवेश गर्न रोक्ने, ढोकामा भित्रबाटै ताला लगाउने र प्रजिअ कटेल तथा प्रहरी प्रमुख कटुवालविरुद्ध नाराबाजी गर्ने अवस्थाबाट सुरु भएको विवाद अन्ततः १९ जनाको स्थानान्तरणमा पुगेर टुंगिएको छ । गिरी पक्षधर कैदीबन्दीले आफूहरु स्थानान्तरणबाट बच्नलाई भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको पक्षमा नाराबाजी गर्ने गरेका थिए ।
अहिले १९ जना सातवटा कारागारमा अलग–अलग छन् भने मोरङ कारागारका बाँकी कैदीबन्दी पुरानै काममा फर्किएका छन् । प्रशासनले कारागारभित्रको वातावरण सामान्य भएको जनाएको छ । तर, गिरीसँग जोडिएको आर्थिक कारोबार, कारागारभित्र उनको प्रभाव एवं साम्राज्य, उनले सञ्चालन गरेको सञ्जाल, कैदीबन्दीबाट रकम असुली गरिएको विषय र उनको सम्पत्तिको स्रोतका बारेमा अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ ।
कैदीबन्दीहरुले गिरीको विषयलाई उनका समर्थक १९ जना कैदीबन्दीको स्थानान्तरणमा मात्र सीमित राख्न नहुने सुझाव दिएका छन् । उनीहरुले वर्षौंदेखि आफूहरुले श्रमबाट गरेको कमाइ र सरकारी सेवा सुविधा कब्जा गरेका कारण गिरी र उनीनिकटका व्यक्तिमाथि अनुसन्धान अघि बढाउनुपर्ने माग गरेका छन् ।

























