
काठमाडौं । नेपाल र गणतन्त्र कोरियाबीच भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतसँगै विपद्पछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको हो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा पनि भेटवार्तामा गम्भीर छलफल भएको थियो । सो अवसरमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकामा कोरिया सरकारप्रति आभार व्यक्त गरे । उनले बाढीपीडितका लागि कोरिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत धन्यवाद दिए ।
मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो तथा सुरक्षित पूर्वाधार निर्माण र ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए। यसका लागि कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे ।
भेटवार्तामा कोरियाली परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आफ्नो सरकार आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा नेपाल र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताए । साथै, जलवायु परिवर्तनबाट भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले समेत आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

























