
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्णरूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
नेपाल प्रहरीले आज (सोमबार) बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार धादिङको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सडकखण्डमा अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरीले बाढी, पहिरो तथा सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखी सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

























