
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले दीप प्रज्वलन गरी जेनजी सहिद तथा विपद्का मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
क्याम्पस परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले जेनजी आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सोही अवसरमा भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका अन्य स्थानमा भएका प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकहरूप्रति पनि श्रद्धासुमन अर्पण गरिएको थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, विपद्बाट प्रभावित सम्पूर्ण नागरिकहरूका पक्षमा उनीहरूले ऐक्यबद्धता समेत जनाएका छन् ।
कार्यक्रमलाई सफल बनाउन आयोजना, समन्वय तथा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आयोजक विद्यार्थीहरूले अभिषेक यादवप्रति विशेष आभार व्यक्त गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा क्याम्पसमा अध्ययनरत ठूलो संख्याका विद्यार्थीहरूका साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।




















