
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद्बारे अध्ययन गर्न गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसद् र संसदीय समितिको मर्यादा कायम राख्दै सरकारले समितिको प्रतिवेदन ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद् र संसदीय समितिको भूमिकालाई बेवास्ता गर्न नहुने बताए । संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने तर समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ ।
थापाले आफूहरू सरकारलाई बिनासर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न तयार रहेको बताए । समितिले प्रतिवेदन तयार गरेपछि त्यसलाई सरकारले ग्रहण गरेर आवश्यक काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामी त अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं । संसदीय समितिमा बसेर काम पनि गर्छौं । समितिले रिपोर्ट पनि तयार गर्ला,’ उनले भने, ‘तर, त्यो रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस् ।’
उनले संसदीय समिति गठन गर्नुअघि नै प्रधानमन्त्रीलाई समितिको कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी गराउनुपर्ने बताए । विगतको संसदीय अभ्यासमा पनि समिति गठन गर्दा सरकार प्रमुखसँग संवाद गर्ने गरिएको उनको भनाइ छ । सरकार र संसद्बीच समन्वय आवश्यक रहेको भन्दै थापाले प्रधानमन्त्रीसँग संवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले आफूहरू सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्दै संसदीय समितिको प्रभावकारिता कायम राख्न प्रधानमन्त्रीको समेत अपनत्व आवश्यक रहेको बताए ।

























